नेपालमा डेंगु सङ्क्रमण घट्दै

काठमाडौँ / नेपालमा डेंगु  सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेंगु सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए ।

सरकारले डेंगुको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा सरसफाइ गर्नुका साथै ‘लामखुट्टे खोज र नष्ट गर’ अभियान सञ्चालन गरिरहेको छ । उनका अनुसार अहिले नेपालमा ४२ औँ हप्ताबाट डेङ्गी सङ्क्रमण घट्न थालेको हो । नेपालमा अहिले डेंगु सङ्क्रमणको ४५ औँ हप्ता चलिरहेको छ ।  

डा.दाहालले ४२ औँ हप्तामा मात्रै दुई हजार पाँच सय ८२, ४३ औँ हप्तामा दुई हजार दुई सय चार, ४४ औँ हप्तामा एक हजार ७१ र ४५ औँ हप्ता चलिरहँदा ५५ जनामा मात्र सङ्क्रमण देखिएको जानकारी दिए । “जाडो बढेसँगै डेङ्गी सङ्क्रमण घटिरहेको छ”, उनले भने, “४५ हप्तामा आइपुग्दा फाट्टफुट्ट मात्र देखिन थालेका छन् । सङ्क्रमण घटेपनि सावधानी अपनाउनुपर्छ ।” 

अहिलेसम्म २९ हजार एक सय ५८ मा सङ्क्रमण भएको भन्दै १२ जनाको निधन भएको किटजन्य रोग शाखाका प्रमुख डा दाहालले जानकारी दिए । उनका अनुसार डेङ्गी सङ्क्रमण हुम्ला बाहेक सबै जिल्लामा देखिएको छ । 

प्रतिक्रिया

सम्बन्धित