इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ

पक्राउ पर्ने उदयपुरका सुजन आचार्य

काठमाडाैं । वैदेशिक रोजगारी ठगी मुद्दामा इन्टरपोलबाट रेडकर्नर नोटिस जारी भएका फरार प्रतिवादी उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्य पक्राउ परेका छन् । एनसीवी पिएचएनओएम कम्बोडियाको समन्वयमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ शुक्रबार नेपाल फिर्ता ल्याइएको छ ।

वैदेशिक रोजगारीमा सिंगापुर पठाइ दिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिहरूबाट ५ करोड २ लाख ९४ हजार रूपैयाँ ठगी गरी फरार भएका प्रतिवादीहरू सुजन आचार्य र बिनु शाक्यलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवम् पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएको थियो । यसै अनुसार २०८० माघ १९ गते उनीहरू विरुद्ध रेड नोटिस जारी भएको थियो ।

साथै सुजन विरूद्द २०७९ जेठ १३ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय कारोवार सम्बन्धी कसूर मुद्दा दर्ता भएको र २०८० वैशाख २५ गते प्रहरी वृत्त महाराजगञ्जमा ठगी तथा आपराधिक लाभ सम्बन्धी कसूर मुद्दा समेत दर्ता भएको भन्ने अनुसन्धानको क्रममा खुल्न आएपश्चात निजहरूलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसूरमा कानूनी कारवाही गराउनको लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकोमा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको र पक्राउमध्ये सुजनलाई नेपाल ल्याइएको हो ।

उनलाई सम्बन्धित कसूरहरूमा कानून बमोजिम कारवाही गराउने प्रयोजनार्थ जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको छ ।यसैबीच सिन्धुलीको दूधौली नगरपालिका–७ कटहरे बस्ने राजेन्द्र थापाको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा सोही नगरपालिका–८ बस्ने २७ वर्षीय हिमाल बराल समेत ८ जनालाई शुक्रवार राति प्रहरीले पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४३ हजार १ सय ७० रूपैयाँ, कौडा १६ थान र मोटरसाइकल २ थान सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया

सम्बन्धित