इजरायली आक्रमणपछि इरानलाई अर्को क्षति, पाकिस्तानको सीमानजिक मारिए १० प्रहरी

एजेन्सी । इजरायलको हवाई हमलाका कारण दुई सैनिक गुमाएको इरानले शनिबार अर्को आक्रमणको पनि सामना गर्नुपरेको छ।बीबीसीका अनुसार इरानको तफ्तानमा चरमपन्थी समूह जैश-अल-अदलले गरेको आक्रमणमा १० इरानी सुरक्षाकर्मी मारिएका हुन्।

तफ्तान क्षेत्र पाकिस्तानको सिमानानजिक छ।इरानको गृह मन्त्रालयका अनुसार सशस्त्र आक्रमणकारीले इरानको सिस्तान र बलुचिस्तानको सिमानामा रहेको सहर तफ्तानको गोहरकोह क्षेत्रमा प्रहरी गस्ती एकाइमा हमला गरेका हुन्।

इरानका गृहमन्त्री इस्कन्दर मोमानीले घटनालाई आतंकवादी हमला भन्दै तत्काल छानबिन गर्न आदेश दिएका छन्।सिस्तान र बलुचिस्तानको पुलिस सूचना केन्द्रले पनि शनिबार विज्ञप्ति जारी घटनाको पुष्टि गरेको छ। उसले भनेको छ- तफ्तान सहरको गोहरकोह पुलिस स्टेसनका दुई गस्ती एकाइका १० जना प्रहरी मारिएका छन्।प्रहरी जवानहरू आफ्नो कर्तव्य पूरा गरेर घर फर्किरहेका बेला आक्रमण भएको बताइएको छ। 

जैश-अल-अदलले आफ्नो टेलिग्राम च्यानलमार्फत आक्रमणको जिम्मेवारी लिएको छ। उसले भनेको छ- तफ्तान सहरको गोहरकोहमा फर्जा जबर बलको गस्ती एकाइलाई निशाना बनाइयो।जैश-अल-अदल एक सशस्त्र चरमपन्थी संगठन हो। यो संगठन इरानी सरकारको विरोध गर्दछ। यो संगठनले आफूलाई न्याय र समानताको दाबी गर्छ।शनिबार इजरायलले इरानमा गरेको हवाई हमलामा पनि दुई इरानी सैनिक मारिएका थिए।

प्रतिक्रिया

सम्बन्धित