लामिछानेको गिरफ्तारी कानुनसम्मत, सडकबाट चुनौती दिनु असान्दर्भिक : मुख्यमन्त्री कार्की

धनकुटा । सत्तारुढ नेकपा एमाले स्थायी कमिटी सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राष्ट्रिय स्वतन्त पार्टीका सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेको गिरफ्तारी कानुनसम्मत भएकाले सडकबाट चुनौती दिनु असान्दर्भिक भएको बताएका छन् ।

संसदीय छानबिन समितिले निकालेको निष्कर्ष वैधानिक र विधिसम्मत भएकाले कानुनी प्रक्रियालाई सडकबाट चुनौती दिन नहुने बताए । ‘अदालत, विधि र कानुनलाई सबैले सम्मान गर्नुपर्छ,’ उनले भने, ‘बरु अदालतको आदेशमा प्रहरीले पक्राउ गरेको हुनाले अनुसन्धानलाई सघाउन जरुरी छ ।’

कार्कीले पूर्व गृहमन्त्री तथा सभापतिको हैसियतले रास्वपाले विरोधको विषय बनाएको हो भने त्यो अशोभनीय कार्य भएको पनि बताए । ‘हामी सबै कानुनको दायरामा छौं, अदालत वा अनुसन्धान गर्ने निकायले कुनै पनि विषयमा अनुसन्धन गर्न पाउँछ,’ उनले भने, ‘विरोध र आलोचना गर्न पाइन्छ, तर कानुनको मर्यादा पालना गर्नुपर्छ ।’

संसदीय प्रक्रियाबाट आएको चौथो राजनीतिक पार्टीको हैसियतले रास्वपाको अहिलेको गतिविधिबाट फर्कन जरुरी रहेको उनले बताएका छन् ।  सडक आन्दोलनबाट अदालतको अनुसन्धान प्रभावित पार्न खोज्नु कानुनसम्मत नरहेको उनले जनाए । ‘छानबिनका क्रममा रविजी दोषी नभए अदालतले चाहेर पनि थुन्न सक्दैन,’ उनले भने, ‘दोषी भए कानुनी बाटोबाट अघि बढ्छ, त्यसलाई रास्वपाले स्वीकार्नुको विकल्प छैन ।’

प्रतिक्रिया

सम्बन्धित