दमकका निरौला हत्या प्रकरण: दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन दलहरुको माग

झापा । झापाको दमक ९ का देशु भनिने यामु निरौलाको हत्याको बिषयमा तत्कालन अनुसन्धान अघि बढाएर हत्यामा संलग्नहरुलाई कारवाही गर्न स्थानीय राजनीतिक दलका नेतृत्वहरुले प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका छन् ।अलग –अलग प्रेस विज्ञप्ती निकालेर सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेसहित प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र राष्टिय प्रजातन्त्र पार्टीका नगर नेतृत्वले घटनामा संलग्न दोषीहरुमाथि सुक्ष्म अनुसन्धान गरेर तत्काल कारवाहीको दायरामा ल्याउन स्थानीय प्रहरी प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।

सत्तारुढ नेपाली कांग्रेस दमक नगर सभापति प्रकाश प्रसाइँद्धारा हस्ताक्षरित विज्ञप्तीमा बाँच्न पाउने नागरिकको अधिकारको सुरक्षा गर्न माग गरिएको छ । कांग्रेसले विज्ञप्ती मार्फत घट्नास्थलमा सिसी क्यामेरा समेत रहेका कारण सो फुटेज समेतको अनुसन्धान गरि संलग्न अपराधीहरुलाई कानुनी कारवाहीको दायरामा ल्याउ माग गरिएको छ । कांग्रेसले बिहिबार विज्ञप्ती निकालेको हो ।त्यसैगरी नेकपा एमालेका दमक नगर कमिटी अध्यक्ष राम पौडेलले हस्ताक्षर गरेर जारी गरेको प्रेस विज्ञप्तीमा उक्त व्यक्ति हत्या कार्य सर्वत्र निन्दनीय भएको उल्लेख गरिएको छ ।

घट्नाको सत्य तथ्य छानबिन गरी दोषीलाई कानुनको दायरामा ल्याई प्रचलित कानुन बमोजिम कारवाही गर्न सम्बन्धित पक्षसँग जोड माग गर्दछौं–विज्ञप्तीमा भनिएको छ ।त्यसैगरी नेकपा माओवादी केन्द्र दमक नगर कमिटीका तर्फबाट इञ्चार्ज बेदु गौतम र अध्यक्ष कूलबहादुर बस्नेतले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तीमा नगर क्षेत्रको व्यस्त स्थानमा नागरिकको हत्या हुनुले स्थानीय शान्ति सुरक्षाको दुरावस्था छर्लङग भएको उल्लेख गरेका छन् ।विज्ञप्तीमा हत्या प्रकरणको सत्य तथ्य तुरुन्त सार्वजनिक गरि घट्नामा संलग्न अपराधीहरुलाई जुनसुकै आवरणमा छोपिएको भए पनि बिना कुनै दबाब र प्रभाव तुरुन्तै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम अधिकतम सजाँय दिलाउन इलाका प्रहरी कार्यालय दमकसहित सम्बन्धित निकायसँग जोडदार माग गरिएको छ ।

त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी दमक नगर कमिटीका तर्फबाट अध्यक्ष हेम सुवेदीले हस्ताक्षर गरेर विज्ञप्ती जारी गरेका छन् । अध्यक्ष सुवेदीद्धारा जारी प्रेस विज्ञप्तीमा घट्नाको अबिलम्ब निष्पक्ष रुपले सत्य तथ्य छानबिन गरी पक्राउ गर्न र कानुनी कारवाहीको दायरामा ल्याउन माग गरिएको छ । राप्रपाले यो घटनालाई अत्यन्तै गम्भिर प्रकृतिको भन्दै जघन्य अपराध भनि टिप्पणी समेत गरेको छ ।गत मंगलबार दमक ३ स्थित मावा पूल नजिकै दिनदहाडै त्यहाँस्थित जग्गा उपयोगका बिषयलाई लिएर दुई समुहबीच चर्काचर्की हुँदा कुटपिट र ढुंगा प्रहारबाट निरौलाको हत्या भएको थियो । घट्नाको आज तेस्रो दिन बितिसक्दा पनि प्रहरीले कुटपिटमा प्रत्यक्ष संलग्नहरुलाई पक्राउ गरेको छैन ।

निरौला परिवार , आफन्तहरु र शुभचिन्तकहरु हत्यामा संलग्नहरुलाई पक्राउ गर्न तत्परता नदेखाएको भन्दै दुई दिनदेखि निरन्तर प्रहरी कार्यालयमा दबाब र प्रदर्शनमा उत्रिरहेका छन् ।मंगलबार अपरान्ह हत्या गरिएका निरौलाको हत्या प्रकरणमा नाम जोडिएका मध्ये केही सत्तारुढ नेकपा एमालेका जिम्मेवार कार्यकर्ताहरु र नेताहरुका नातगोता भित्रका परेकाले उनीहरुलाई अनुसन्धानको दायरामा ल्याउन प्रहरीले आनाकानी गरेको हुन सक्ने पीडित परिवारको अनुमान छ ।

इलाका प्रहरी कार्यालय दमकले मृतक निरौलाकी पत्नी कृष्णमाया निरौलाले हत्या प्रकरणमा जोडिएका ६ जनाको नाममा पहिलो किटानी जाहेरी दिन जाँदा दिनभर जाहेरी दर्ता गर्न नमानेका कारण प्रहरीमाथिनै शंका उत्पन्न गराएको थियो । प्रहरीले बुधबार साँझ ६ जना विरुद्धको जाहेरी दर्ता गरे पनि उनीहरुलाई पक्राउका लागि आवश्यक प्रकृया अघि नबढाएको मृतक निरौलाका नातेदार काका यज्ञराज निरौलाले बताए ।नातेदार निरौलाका अनुसार बिहिबार दिउँसो थप एक जना विरुद्ध सो ज्यान कसुरमा पुरक किटानी जाहेरी दर्ता भएको छ । घटनाको केही बेर अघि मात्रै सो स्थानमा देखिएका नम चेम्जोङ विरुद्ध बिहिबार किटानी जाहेरी परेको हो । यससँगै सो कर्तव्य ज्यान कसुर सम्बन्धि किटानी जाहेरी परेकाहरुको संख्या ७ पुगेको छ ।

यसअघि बुधबार परेको पहिलो किटानी जाहेरीमा उल्लेखित व्यक्तिहरु मध्ये सीसि फुटेजबाट समेत कुटपिटमा संलग्नको पहिचान भएका राजु भनिने शेरबहादुर लिम्बु र गणेश दर्जी छन् ।त्यस्तै दमक ८ का बुद्धिमान थापासहित ६ जना विरुद्ध किटानी जाहेरी परिसकेको छ । दमकबाट मधुमल्ला जाने मुल सडक छेवैमा करिब ८/१० जनाको समुहकै बीच दुई जनाले निरौलालाई टाउकोको पछाडी भागमा चार/ पाँच पटक मुक्काले हानेको दृश्य सीसी क्यामेरामा देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित