लेखा समितिमा ८५ वटा उजुरी, सम्बन्धित निकायको प्रतिक्रिया लिँदै समिति

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिमा छानबिनको माग गर्दै विभिन्न विषयका ८५ वटा उजुरी परेका छन् । सार्वजनिक लेखा समितिमा प्रतिनिधि सभाको यस कार्यकालमा २०८० साल वैशाख १५ गते समिति गठन भएपछि हालसम्म विभिन्न विषयमा छानबिनको माग गर्दै ८५ वटा उजुरी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।

न्युज एजेन्सी नेपालसँग कुराकानी गर्दै संघीय संसद् सचिवालयका प्रवक्ता तथा सार्वजनिक लेखा समितिका सचिव एकराम गिरीले समितिमा वित्तीय सुशासन, आर्थिक अनुशासनसँग सम्बन्धित उजुरीहरू आउने बताए । उनले समितिमा बेरुजु फर्स्यौट गरिपाउँ भनेर निवेदन पनि आउने गरेको जानकारी दिए । सार्वजनिक लेखा समितिमा प्राप्त भएका उजुरीहरुलाई सम्बन्धित निकायमा पठाएर सम्बन्धित निकायको प्रतिक्रिया लिने काम भइरहेको उनले बताए ।

उनले भने, ‘बेरुजु फर्स्यौट गर्नुपर्ने अवस्थामा कागजात संलग्न गरेर बेरुजुहरु फर्स्यौट गरिपाउँ भन्नेखालका पनि हुन्छन् । तिनलाई उजुरी भन्दा निवेदनको रूपमा लिनुपर्ने हुन्छ । सार्वजनिक लेखा समितिमा जति उजुरीहरू प्राप्त भएका छन् ती सबै उजुरीहरू सम्बन्धित निकायमा पठाएर त्यसमाथि सम्बन्धित निकायको प्रतिक्रिया लिने अवस्थामा सबै उजुरीहरू गइसकेका छन् ।’

समितिमा प्राप्त मुख्यमुख्य उजुरीहरूमध्ये नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष युवराज अधिकारीले नेपाल वायुसेवा ऐन, २०१९ र यस अन्तर्गत बनेको नियमावली विपरीत काम गरी निगमलाई आर्थिक भार पार्ने काम गरेको भन्दै अनुसन्धान गरी कारबाही गर्न माग गरिएको छ । त्यसैगरी नेपाल टेलिकममा राजश्व चुहावट भएको भन्दै सत्यतथ्य पत्ता लगाउन माग गर्दै उजुरी परेको छ । मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) अनुदान सहयोग र मिलिनियम च्यालेन्ज एकाउन्ट (एमसीए) अन्तरगतको विद्युत् प्रसारण लाइन निर्माणको परामर्श सेवामा अनियमितता र भ्रष्टाचार भएको भन्दै छानबिनको माग गरिएको छ । 

 

प्रतिक्रिया

सम्बन्धित