रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान, ९० दिनसम्म हिरासतमा राख्न मिल्ने

पोखरा । पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी छविलाल जोशीविरुद्ध सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा समेत अनुसन्धान हुने भएको छ ।

संगठित रुपमा सहकारी ठगी आरोपमा पक्राउ परि हाल कास्की प्रहरीको कारागारमा रहेका उनीहरुलाई सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान अघि बढाउन अदालतले अनुमति दिएपछि लामिछाने र जोशीमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान हुने भएको हो ।बिहीबार कास्की जिल्ला अदालतले उनीहरुमाथि सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान अघि बढाउन प्रहरीलाई अनुमति दिएको थियो ।

गत शुक्रबार सहकारी ठगी कसुरमा लामिछाने काठमाडौंस्थित पार्टी कार्यालयबाट पक्राउ परेपछि पोखरा ल्याइएको छ । आइतबार अदालतमा पेस गरेका लामिछानेलाई पहिलोपटक ६ दिनको समय दिएर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । पहिलो पटक दिएको समय सकिएपछि बिहीबार प्रहरीले रवि र छविलाई अदालतमा पेस गरेको थियो ।न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासमा भएको बहसमा सरकारी वकिल र प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा समेत अनुसन्धानका लागि म्याद थपको अनुमति दिन माग गरेका थिए ।

उक्त कसुरमा अनुसन्धान गर्न २५ दिन म्याद थपको अनुमति माग गर्दै सरकार पक्षले इजलाससमक्ष प्रतिवेदन बुझाएको थियो । तर प्रहरीले ७ दिनको मात्र समय पाएको छ ।कास्की प्रहरी प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले अब तीनवटा कसुरमा अनुसन्धान अघि बढ्ने जानकारी दिए ।सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धानका लागि विभिन्न बैंकको स्टेटमेन्ट, सम्पत्तिको विवरण, आम्दानीअनुसार सरकारलाई कर तिरेको विवरणलगायत धेरै कागजात आवश्यक पर्ने भएकाले त्यसका लागि सरकारी पक्षले २५ दिनको समय माग गरेको थियो ।

रविले ग्यालेक्सी टीभीबाट मासिक करिब ६ लाख रुपैयाँ लिने गरेका थिए । डेढ वर्ष उक्त टीभीमा काम गरेका उनले त्यसअघि टेलिभिजन कार्यक्रममा पनि उनले राम्रै रकम बुझ्ने गरेको बताउने गरेका छन् । तर, उनको जीवन शैली र खर्च अस्वभाविक रहेको आरोप लाग्ने गरेको छ ।

संगठित अपराधसम्बन्धी कसुरमा ६० दिन र सम्पत्ति शुद्धीकरणमा ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाइन् व्यवस्था छ ।पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा सारेर अपचलन गरेको आरोप लामिछानेमाथि छ ।लामिछाने गोर्खा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी फोरके टीभीका पूर्वप्रबन्ध निर्देशक हुन् भने जोशी पूर्वउपाध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित