रवि जोडिएको सुप्रिम सहकारी ठगी अनुसन्धान गर्न सीआईबीको टोली बुटवलमा

बुटवल । बुटवलको सुप्रिम सहकारी ठगीको अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली बुटवल आइपुगेको छ । डीएसपी सुन्दर तिवारीको नेतृत्वमा टोली बुटवल आएको हो । सुप्रिम सहकारी ठगीमा पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका रवि लामिछानेको नाम पनि जोडिएको छ ।

गत असोज ५ गते सहकारीपीडित नारायणबहादुर पहराईलगायतले रवि लामिछानेसहित १२ जनाविरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा पूरक जाहेरी दिएका छन् । बिहीबार जिल्ला अदालत रुपन्देहीले उनीहरूलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिइसकेको छ ।

अदालतले छविलाल जोशी, दीपक लामा, अनन्त बाबु राई, श्री वल्लभ नेपाल, विशाल तामाङ, रविना रिमाल, भगवती बम्जन, विज्ञान राई, सुरक्षा अधिकारी, नरेश जिसी र शिवबहादुर गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी गरेको छ ।न्यायाधीश श्यामप्रसाद श्रेष्ठको इजलासले पक्राउ गरेर अनुसन्धान गर्न अनुमति दिएसँगै उनीहरूविरुद्ध सुप्रिम सहकारी ठगीमा पनि मुद्दा अगाडि बढ्ने निश्चित भएको हो ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा छविलाल जोशी र रवि लामिछानेविरुद्ध पनि अनुसन्धान भइरहेको छ । कास्कीमा पक्राउ परेका जोशीलाई बुटवल लगेर प्रहरीले पहिलो चरणको बयान गराइसकेको छ । लामिछानेलाई पनि बुटवल लैजाने प्रहरीको तयारी छ ।  बुटवलको सुप्रिममा १० हजार ३९१ सदस्यको एक अर्ब ७ करोड बचत रकममध्ये ७८ करोड गोर्खा मिडियामा अपचलन गरेको आरोप छ ।

प्रतिक्रिया

सम्बन्धित