राेजगारीकाे बहानामा बालविवाहकाे प्राेपाेगान्डा , सुनसरी प्रहरीले पहिले पाएकाे थियाे सुचना

चिनिया नागरिकसँग नेपाली किशोरीको बालविवाह गराउने आठ पक्राउ

इटहरी ।  विदेशी नागरिकसँग बालविवाह गराउने बाबुसहित आठ जनालाई सुनसरी प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । धनकुटाको छथर जोरपाटी २ की १६ वर्षकी किशोरीलाई चिनियाँ नागरिकसँग जबरजस्ती बालविवाह गराउने उनीहरूलाई सुनसरीको चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।

किशोरीलाई घरबाट ललाइफकाई चतरास्थित औलिया बाबाको मन्दिरमा लगेर बालविवाह गरिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो । सो कार्यमा सम्लग्न तीन चिनियाँ नागरिक र ६ नेपालीलाई पक्राउ गरी घटनाको अनुसन्धान अगाडि बढाइएको सुनसरी प्रहरीले जनाएको छ ।

अभियुक्तहरूले धनकुटा छथर जोरपाटी २ की १६ वर्षकी बालिकालाई चिनको हुबेल बस्ने ३३ वर्षीय लि टेङसँग विबाह गराउँदै गरेको अवस्थामा बेहुलासहितका मानिसहरूलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा राखिएको डिएसपी तिमल्सिनाले बताए ।

प्रहरीले उमेर नपुगेकी छोरीलाई जबरजस्ती विवाह गराउने किशोरीका बाबु, बेहुला चाइनिज नागरिक लि टेङ, उदयपुरको बेलका नगरपालिका ९ का ४३ वर्षीय दिपक दर्जी, ४२ वर्षीय बद्रीविक्रम राई, स्याङ्जा पुतलीबजार नगरपालिका १२ का २० वर्षीय सितल गुरुङ, काभ्रेपलान्चोकको रोशी गाउँपालिका ३ की २० वर्षीया रोशनीमाया तामाङ, चाइनिज नागरिकहरू ३५ वर्षीय डोङ शिहाओ र वु हेजीलाई पक्राउ गरेको डिएसपी तिमल्सिनाले बताए । नेपालको कानुन अनुसार केटाकेटीको विवाह गर्ने उमेर २० वर्ष पूरा भएको हुनुपर्छ ।

कानुनविपरित किशोरीलाई प्रलोभनमा पारी जबरजस्ती विवाह गरेको पाइएको सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले बताए । पक्राउ परेका आठै जनालाई जिल्ला अदालत सुनसरीबाट म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित