केर्खा दुर्घटना : पीडित पक्षसँग ४ बुँदे सहमति, राजमार्ग करिव १२ घण्टापछि सूचारू

झापा । कमल गाउँपालिकाको केर्खामा भएको दुर्घटनाका कारण अवरुद्ध भएको पूर्वपश्चिम राजमार्ग करिब १२ घण्टापछि पुनः सुचारु भएको छ। दुर्घटनापछि हिजो साँझदेखि बन्द रहेको राजमार्ग आज बिहान ५ बजेदेखि खुलेको हो। पीडित पक्ष र स्थानीय प्रतिनिधिबीच ४ बुँदे सहमति भएपछि राजमार्ग खुलेको जानकारी प्राप्त भएको छ।

सहमतिमा मृतक परिवारलाई क्षतिपूर्ति दिलाउने, दोषी चालकलाई कारबाहीको पहल गर्ने, त्रिपक्षीय सहमति कार्यान्वयन गर्ने, र कानुनी प्रक्रिया पूरा गर्न अवरोध हटाउने निर्णय गरिएको छ। सहमतिपछि प्रहरीले बिहान ५ बजे मृतकहरूको शव पोस्टमार्टमका लागि दमक अस्पताल पठाएको थियो।

दुर्घटना हिजो साँझ ५ः३० बजे केर्खामा भयो, जब काँकडभिट्टाबाट काठमाडौं जाँदै गरेको बसले एक इलेक्ट्रिक साइकललाई ठक्कर दियो। घटनामा हजुरबुवा टेकबहादुर इजम (६०) र नातिनी कृपा इजम (९) को घटनास्थलमै मृत्यु भएको थियो। घटनापछि आक्रोशित भीडले बसमा तोडफोड गर्न थालेको थियो, र केर्खास्थित प्रहरी चौकीमा आगजनी गर्ने प्रयास गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले दर्जनौं अश्रुग्यास सेल प्रहार गरेको थियो। ढुंगामुढाका क्रममा १० प्रहरी घाइते भएका छन्, तर उनीहरूको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित