झापामा श्रीमतीकाे कट्टी प्रहारबाट श्रीमान घाइते

झापा । सामान्य घरायसी विवादमा झापाको बाह्रदशीमा कट्टी प्रहार गरी श्रीमतीले श्रीमानलाई घाइते बनाएकी छिन् । बाह्रदशी– ६ बिहीवारे बजार निवासी ३९ वर्षीया विद्यादेवी आङ्वोले कट्टी प्रहार गर्दा ३६ वर्षीय श्रीमान ज्ञानेन्द्र लिम्बू घाइते भएका हुन् ।

उनको टाउकोमा गम्भीर चोट लागेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । घाइते लिम्बूको बिर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको छ ।

श्रीमानलाई कट्टी प्रहार गर्ने विद्यादेवीलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखिएको डीएसपी विष्टले बताए ।

उता दमक–९ का देशु भनिने यामु निरौलाको हत्यामा संलग्न व्यक्तिहरुको पहिचान भएको छ । उनीहरु फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केशीले जानकारी दिए । दमक– ३ दमक मधुमल्ला सडकखण्डको मावा खोलाको पुलमा दमक –९ बस्ने अन्दाजी ३२ वर्षका देशु भनिने यामु निरौलाको हत्या भएको हो ।

निरौलालाई भुइँमा लडिरहेको देखेर स्थानीयले उपचारको लागि आम्दा अस्पताल खरखरेमा ल्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए । उनलाई तत्काल नाम ,थर, वतन नखुलेका २–३ जना व्यक्तिले लाती तथा मुड्की प्रहार गरी हत्या गरेको सीसीटीभी फुटेजमा देखिएको दमक प्रहरीले जनाएको छ ।

तर , अहिलेसम्म कसैलाई पनि पक्राउ गर्न नसकिएको डीएसपी निशान थापाले बताए । उनले कुटपिट गर्नेहरु फरार भएकाले खोजतलास तथा अनुसन्धान भइरहेको जानकारी दिए । निरौलाको शव कानुनी प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि दमक अस्पताल पठाइएको छ ।

क्रसर संचालन रहेको मावा खोलाको बगरको ऐलानी जग्गाको विषयमा विवाद भएको हुनसक्ने आशंका गरिएको छ । दुई पक्षबीच विवाद भएको आशंका गरिएपनि विवादको कारण खुलिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

प्रतिक्रिया

सम्बन्धित