बेलबारी गोल्डकप: भारतलाई हराउँदै सहलेस सेमिफाइनलमा

बेलबारी । मोरङको बेलबारीमा जारी ७ औं बेलबारी आरजु राईस अन्तर्राष्टिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा सिराहाको सहलेस फुटबल क्लब पुगेको छ । बेलबारी–११ लक्ष्मीमार्गमा बुधबार भएको खेलमा सिराहाले भारत पश्चिमबंगलाको दलसिंहपारा फुटबल क्लबलाई ३–२ गोलमा हराउँदै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । सिराहाले जितसँगै फाइनल यात्राका लागि शुक्रबार काठमाडौंको चित्लाङ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्ने छ ।

खेलको चौथो मिनेटमा सिराहाका अजयी मार्टिनले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । समिर तामाङले मिलाइ दिएको पासमा मार्टिनले गोल गरे । ८ औं मिनेटमा मार्टिनको पासमा समिर तामाङले गोल गर्दै अग्रता दोब्बर पारे ।२६ औं मिनेटमा पुनः समिरले व्यक्तिगत दोस्रो र टोलीका लागि तेस्रो गोल गरे । उनले पाएको वान भर्सेस वानमा गोल गरेका हुन् ।पहिलो हाफको अतिरित्त समयमा दलसिंहपाराका रोहन थापाले गोल गरे ।४६ औं मिनेटमा पुनः रोहनले गोल गर्दै गोल अन्तर घटाए । थप आक्रमण खेलको दलसिंहपाराले गोल संख्या बढाउन नसकेपछि घर फर्कन बाध्य भए ।

खेलको म्यान अफ द म्याच सिराहाका समिर तामाङलाई नगद ५ हजार रुपैयाँ र ट्रफी कोशी प्रदेश खेलकुद विकास समितिका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले प्रदान गरे ।एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहीबारको खेल झापा ११ फुटबल क्लब र बुटवल लुम्बिनी फुटबल क्लबबीचको विजेताले फाइनल यात्रा तय गर्ने छ ।

प्रतिक्रिया

सम्बन्धित