पर्यटकीय गन्तव्य बन्दै बराहक्षेत्रकाे सूर्यकुण्ड

इटहरी । वराहक्षेत्र नगरपालिकाको पहाडी क्षेत्रमा अवस्थित सूर्यकुण्ड पछिल्लो समय हाइकिङ र ट्रेकिङको आकर्षक गन्तव्य बन्दै गएको छ। धार्मिक, सांस्कृतिक, र ऐतिहासिक महत्त्व बोकेको यो क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ। सूर्यकुण्डबाट सप्तकोशी नदी, कोकाहा खोला, चतरा बजार, र हरियाली पहाडको मनोरम दृश्यले पर्यटकलाई लोभ्याउँछ।

तराईको गर्मी छल्न छोटो दुरीमै पुग्न सकिने यो ठाउँमा धरान, चतरा, झुम्का, इटहरीलगायतका स्थानबाट धेरै आन्तरिक पर्यटक आउने गरेका छन्। यहाँको छिनमै बदलिने मौसम, कुहिरो र बादलले वातावरणलाई थप आकर्षक बनाएको छ। सूर्यकुण्डमा साना भ्यान, अटो, र मोटरसाइकलबाट सजिलै पुग्न सकिन्छ।

सूर्यकुण्ड धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका साथसाथै साहित्यिक दृष्टिले पनि लोकप्रिय छ। मुकुन्द सेन राजाले राज्य गरेको यो क्षेत्र कवि प्रह्लाद पहरेदारका अनुसार देवता र अप्सराहरू स्नान गर्ने पवित्र स्थल मानिन्छ। विश्वेश्वरप्रसाद कोइरालाको चर्चित उपन्यास ‘सुम्निमा’मा समेत सूर्यकुण्ड क्षेत्रको महत्त्वलाई उजागर गरिएको छ।

स्थानीय किराँत जातिको कला, संस्कृति, र जीवनशैलीलाई झल्काउने यो क्षेत्र उँधौली-उँभौली पर्वमा विशेष रूपमा सजिन्छ। यहाँ रहेका आदि वराह सूर्यकुण्ड, भवानीथान, र गुप्तेश्वर मन्दिर जस्ता स्थलहरूको धार्मिक र ऐतिहासिक महत्त्व छ। स्थानीयवासी अर्जुन कुलुङका अनुसार सूर्यकुण्ड पर्यटनको प्रचुर सम्भावना बोकेको क्षेत्र हो, र यसलाई विकास गर्न भौतिक पूर्वाधार र प्रचारप्रसारमा ध्यान दिनुपर्नेछ।

प्रतिक्रिया

सम्बन्धित