बिपी राजमार्ग : पाँच घण्टा जाम बसेर यात्रा गर्न बाध्य

काठमाडौँ ।अविरल वर्षासँगै सुनकोशी नदीमा आएको बाढीले सङ्घीय राजधानी काठमाडौँबाट पूर्वी क्षेत्र जोड्ने सडक सञ्जाल छिन्नभिन्न छ ।गत असोज ११ र १२ गतेको अविरल वर्षाले देशभर नै ठूलो जनधनको क्षति गर्‍यो । पुल पुलेसा, सडक सञ्जाल र भौतिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । विपद्का कारण आवागमन रोकिएका सडक सञ्जालहरु अधिकांश पूर्णरुपमा नै सञ्चालनमा आइसकेका छन् । तर बिपी राजमार्ग भने अझै पूर्णरुपमा सञ्चालनमा आउन सकेको छैन ।

पूर्ववर्ती क्षेत्रबाट सङ्घीय राजधानी आउने वैकिल्पक बाटो भनेको उदयपुर चितवनबाट काठमाडौँ आउने हो । तर लामो पर्ने भएकाले पाँच घण्टाभन्दा बढी जाममा बसेर भए पनि बिपी राजमार्गबाटै काठमाडौँ आउने गरेका छन् । बिपी राजमार्गको यात्राका क्रममा पर्यटकहरुले पनि सास्ती व्यहोरिरहेका छन् ।

सुनकोशीले धेरै ठाउँमा सडक नै बगाएको छ । त्यसको विकल्प दिन सरकारलाई अझै धेरै समय लाग्ने निश्चितप्रायः छ । स्थलगत रिपोर्टिङका क्रममा न्युज एजेन्सी नेपालले बिपी राजमार्गमा भेटिएका एक जना सवारी चालकसँग कुरा गर्दा उहाँले चार/पाँच घण्टा कुरेर बस्नुपर्ने र अर्को बाटो जाँदा एक दिन पूरै समय जाने भएकाले जाममा बसेरै छोटो बाटो जाने गरेको बताउनुभयो । तत्काल बाटो बन्छ जस्तो उहाँलाई लागेको छैन । चितवन हुँदै जाँदा बाटो घुमाउरो भएकाले बिपी राजमार्ग हुँदै  जान छिटो हुने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चार/पाँच घण्टा कुरेर बस्नुपर्छ । बाटो बन्ला जस्तो छैन, बाटो नै यस्तो छ । सुरुमै यस्तो जाम परिसक्यो, बिच–बिचमा अझ कति बाँकी छ । उताबाट जाँदा घुमेर जानुपर्छ, टाढा छ ।’’सोही क्रममा भेटिनुभएका रुसकी पर्यटकले आफूसँग समय नरहेको तर अघि बढ्न समस्या भएको गुनासो गर्नुभयो । उहाँले काठमाडौँका लागि आफू हिँडेपनि बाटोमा धेरै समयदेखि जाममा बस्नुपरेको बताउनुभयो ।उहाँले भन्नुभयो, ‘‘यहाँ किन केही गरिएको छैन, थाहा छैन, मसँग समय छैन । म काठमाडौँका लागि हिँडेको हो । मेरो घर रसिया हो ।’’

काभ्रेको भकुण्डेबेंसी क्षेत्रमा भेटिनुभएका मोटरसाइकल चालकसँग कुरा गर्दा उहाँले  आफू झापाबाट काठमाडौँ हिँडेको दुई दिनमा भकुण्डेबेंसी आइपुगेको बताउनुभयो । उहाँले बाटो चितवनतिर पनि बिग्रिएकाले छोटै बाटोबाट जाने निर्णय गरेर आएपछि सहज नरहेको प्रतिक्रिया दिनुभयो । उहाँले विगतमा बाटो राम्रो हुँदा एक दिनमा पुग्ने ठाउँ अहिले दुई दिनमा पनि पुग्न कठिन भइरहेको गुनासो गर्नुभयो । नदीले अहिले आफ्नो क्षेत्र ओगटेकाले नदीले नभेट्ने क्षेत्रलाई मध्यनजर गरी सडक सञ्जाल बनाउन सरकारलाई सुझावत दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘म झापाबाट हिँडेको । बाटो उता पनि धेरै नराम्रो छ । त्यसैले आउन नसकेर साथीको घरमा बास बसेर अहिले बिहान हिँडेको । विगतमा यो बाटो धेरै राम्रो थियो । अहिले दुई दिन लाग्छ । खोलाले आफ्नो क्षेत्र ओगटेको छ । उसलाई उसको क्षेत्र छोडेर बाँकी क्षेत्रमा मात्रै बाटो बनाउनुपर्छ ।’’बाढी, पहिरोका कारण बिपी राजमार्गसहित देशभर सडक, पूर्वाधारका क्षेत्रमा ६ अर्ब बढीको क्षति भएको अनुमान छ । तर काम पूरा गर्नका लागि १५ अर्बभन्दा बढी रकम लाग्ने सरकारले अनुमान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित