सरकारले आवश्यक परे अध्यादेश ल्याउन सक्छ तर, अहिले तयारी छैन : प्रधानमन्त्री

काठमाडौं । सत्ता गठबन्धनको आज (बुधबार) बसेको बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशबारे पनि चर्चा भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले दल विभाजन सहज हुने गरी अध्यादेश ल्याउने तयारी भइरहेको बेलामा आज बालुवाटारमा बसेको बैठकमा यो विषय उठेको हो ।

प्रधानमन्त्री ओलीले नेकपा एकीकृत समाजवादीसहित केही साना दलहरूलाई लक्षित गरेर अध्यादेश ल्याउने प्रयासमा छन् । तर, सत्तारुढ दल नेपाली कांग्रेसभित्र सहमति नजुट्दा तत्काललाई रोकिएको छ । अध्यादेशको विषयमा बैठकमा कुरा उठेपछि त्यस्तो कुनै तयारी नभएको प्रधानमन्त्रीले बैठकमा प्रष्टीकरण दिएको जनता समाजवादी पार्टीका महासचिव मोहम्मद इश्तियाक राईले जानकारी दिए ।

उनले सुनाए, ‘विपक्षी दलको तर्फबाट ज्ञापनपत्रमा अध्यादेशको विषय ध्यानाकर्षण गराएको विषय आएपछि बैठकमा कुरा उठेको थियो । तर, प्रधानमन्त्रीले अहिले त्यस्तो कुनै जानकारी नभएको बताउनुभएको छ ।’ प्रधानमन्त्री ओलीले आवश्यक परे ल्याउन सक्ने भए पनि अहिले कुनै तयारी नभएको उनको भनाइ छ ।

नेकपा एसका एक तिहाइभन्दा बढी केन्द्रीय सदस्य र आधा जति सांसदले विभाजनमा सहजताका लागि अध्यादेश ल्याइदिन प्रधानमन्त्री र एमालेलाई आग्रह गरिरहेका छन्। साना दल फुट्दा एमालेले लाभ लिन सक्ने भन्दै कांग्रेस नेता डा. शेखर कोइरालाले नमानेपछि प्रधानमन्त्री ओलीको यो प्रयास तत्काललाई रोकिएको छ ।

आजको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा, गृहमन्त्री रमेश लेखक, एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, महासचिव शंकर पोखरेल, जनता समाजवादी पार्टीका सहअध्यक्ष रेणुकुमारी यादव, जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष राजकिशोर यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतलगायत सहभागी थिए ।

प्रतिक्रिया

सम्बन्धित