वीरगन्ज सोनार हत्या प्रकरण : एक जना भारतीय पक्राउ, विवाहेत्तर सम्बन्धका कारण हत्याको आशंका

वीरगन्ज । बारा प्रहरीले वीरगन्जका वीरेंद्र साह सोनारको हत्या प्रकरणमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीले हत्या भएको एक हप्ता पछि मुख्य आरोपीलाई पक्राउ गरेको हो। बारा प्रहरीका प्रवक्ता प्रकाश सापकोटाका अनुसार रक्सौल निवासी विजय गुप्तालाई बुधबार बिहान वीरगन्जको इनर्वा नाकाबाट पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार, गुप्तासँग नेपाली नागरिकता पनि रहेको खुलेको छ। प्रहरीले विवाहेत्तर सम्बन्धका कारण सोनारको हत्या भएको आशंका गरेको छ। हाल गुप्तालाई नियन्त्रणमा लिई थप सोधपुछ भइरहेको प्रहरीले जानकारी दिएको छ।

सोनारको शव गत कात्तिक १ गते बाराको प्रसौनी गाउँपालिकाको गण्डक नहरको किनारमा फेला परेको थियो। उनी चार दिनदेखि वीरगन्जबाट बेपत्ता थिए। पोस्टमार्टम रिपोर्टले हत्या पुष्टि गरेपछि प्रहरीले गहिरो अनुसन्धान थालेको थियो।

यसैक्रममा, मृतकका श्रीमती मनिषा देवीलाई पनि प्रहरीले नियन्त्रणमा लिई सोधपुछ गरिरहेको छ। उनको बयानका आधारमा गुप्तालाई पक्राउ गरिएको हो। प्रहरीले पत्रकार सम्मेलन गरी थप विवरण सार्वजनिक गर्ने तयारी गरेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित