विपदमा ज्यान गुमाएका २३८ मृतकका परिवारले पाए राहत रकम

काठमाडौं । गृह मन्त्रालय गत असोज दोस्रो साता बाढी, पहिरो र डुबानका कारण ज्यान गुमाएकाहरुको परिवारलाई राहत रकम दिएको छ ।मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीका अनुसार विपद्‍मा परी ज्यान गएका २३८ जना मृतकका परिवारलाई राहत रकम दिइएको छ । उनीहरुलाई प्रतिमृतक २ लाख रुपैयाँका दरले रकम दिइएको हो ।

विपदमा ज्यान गुमाएकामध्ये १२ जनाको परिवारले भने राहत पाएका छैनन् । पारिवारिक विवरण यकिन नभएको, हकदार नभएको, कागजात मिलाउन बाँकी रहेको जस्ता कारणले उनीहरुको परिवारलाई राहत रकम दिन नसकेको तिवारीले बताए ।

अहिलेसम्म मृतकका परिवारलाई राहतस्वरुप ५ करोड ४६ लाख रुपैयाँ वितरण गरिएको उनको भनाइ छ । काभ्रेमा ज्यान गुमाएका ७९ मध्ये ७८, ललितपुरका ४६ मध्ये ४५, धादिङका ३६, काठमाडौंका १९, पाँचथर, मकवानपुर, सिन्धुपाल्चोक र दोलखाका ७/७ मृतक परिवारले राहत पाएका छन् ।

त्यस्तै सोलुखुम्बुका ५, भक्तपुर र रौतहटका ४/४, सर्लाही र सिन्धुलीका ३/३, झापा, महोत्तरी र रुपन्देहीका २/२, इलाम, धनकुटा, उदयपुर, ओखलढुंङ्गा, रामेछाप, सप्तरी र सिरहाका १/१ जना मृतक परिवारलाई पनि राहत रकम दिइएको मन्त्रालयले जनाएको छ । विपद्‍मा परी १७७ जना घाइते भएका थिए भने १८ जनाको अवस्था अझै अज्ञात छ ।

प्रतिक्रिया

सम्बन्धित