छविलाल जोशीको बयान चलिरहँदा अदालत अगाडि सहकारीपीडितको प्रदर्शन

बुटवल  । गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्व डीआईजी छविलाल जोशीको सरकारी वकिलको कार्यालय भैरहवामा बयान शुरू भएको छ । जोशीलाई सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक विजयराज पण्डित, अनुसन्धान अधिकृतहरू यमलाल बन्जाडेसहितका प्रहरीहरूले बयान लिइरहेका छन् ।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा पोखरामा अनुसन्धान भइरहेकामा जोशीलाई सोमबार सुप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा अनुसन्धान गर्न बुटवल ल्याइएको हो । सहकारी वकिल कार्यालयभित्र बयान चलिरहँदा बाहिर सुप्रिम सहकारी पीडितहरूले प्रदर्शन गर्न थालेका थिए । तर प्रहरीले रोक लगाएपछि पीडितले जिल्ला अदालत अगाडि प्रदर्शन गरिरहेका छन् ।

सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गर्न लागिएको बताए । उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी) लाई राजनीतिक संरक्षणमा भगाइएको आरोप समेत लगाएका छन् ।

बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गरलगायतका प्लेकार्ड बोकेर पीडितले विरोध गरेका हुन् । उनीहरूले रवि लामिछाने, छविलाल जोशी र जीबी राईलाई राजनीतिक संरक्षण भएको समेत आरोप लगाएका छन् । सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले न्याय, रकम फिर्ता र सहकारीको रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै प्रदर्शन गरिएको जनाए ।

प्रतिक्रिया

सम्बन्धित