आन्तरिक पर्यटकको रोजाइमा ताप्लेजुङकाे ढङढङ्गे झरना

ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा रहेको ढङढङ्गे झरना आन्तरिक पर्यटकको रोजाइमा पर्दै गएको छ । सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिन र वडा ६ मेहेलेको सिमानामा रहेको ढङढङ्गे झरना नयाँ पर्यटकीय गन्तव्यका रूपमा स्थापित हुँदै गएसँगै आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको हो। 

निकै मनमोहक, आकर्षक र सुन्दर ढङढङ्गे झरनामा पछिल्लो समय आन्तरिक पर्यटकको बाक्लो चहलपहल हुन थालेको पाइएको छ । फुर्सद र चाडपर्वको समयमा आन्तरिक पर्यटकका लागि ढङढङ्गे झरना उपयुक्त तथा आकर्षक गन्तव्य बन्दै गएको छ । हाल ढङढङ्गे झरनामा रमाउन समूहगत रूपमै आन्तरिक पर्यटकको उपस्थिति बढ्न थालेको सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूले बताउनुभयो ।

वडाध्यक्ष लिम्बूका अनुसार विगतमा भन्दा यसवर्ष चाडपर्वको समयमा ढङढङ्गे झरनाको भ्रमण गर्ने आन्तरिक पर्यटकको उपस्थिति बाक्लिएको छ । चाडपर्व, बिदा र फुर्सद समयको सदुपयोग गर्दै झरनाको भ्रमण गर्ने पर्यटकको उपस्थिति बढेको वडाध्यक्ष लिम्बूले बताउनुभयो । उहाँकाअनुसार ढङढङ्गे झरनाको मनमोहक दृश्यले पर्यटकलाई लोभ्याउने गरेको छ । वरिपरि हरियाली जङ्गलसँगै भीर र पहराको बिचबाट झर्ने झरना निकै सुन्दर रहेको उहाँको भनाइ छ । 

स्थानीय रेनु लिम्बूका अनुसार सुरुसुरुमा न्यून सङ्ख्यामा पर्यटकले ढङढङ्गे झरनाको भ्रमण गर्ने गरेका थिए । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालमा ढङढङ्गे झरनाको तस्बिर र भिडियोहरू लगाउने (पोस्ट गर्ने) क्रमले त्यस्ता पोस्टहरू भाइरल हुन थालेपछि आन्तरिक पर्यटकहरू थप आकर्षित हुँदै गएका लिम्बूको भनाइ छ । उहाँकाअनुसार सामाजिक सञ्जाल र सञ्चारमाध्यमहरूबाट झरनाको प्रचार हुन थालेपछि आन्तरिक पर्यटकको उपस्थिति बाक्लिँदै गएको हो ।

यता सिदिङ्वा गाउँपालिकाले पनि ढङढङ्गे झरनासहित सो क्षेत्रमा रहेको तिम्बुङपोखरी, सिदिङ्मा धाम, चमेरे गुफालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पहल सुरु गरेको जनाएको छ । उक्त पर्यटकीय गन्तव्यहरूमा आवश्यक प्रचारप्रसारका काम, सडक लगायतका पूर्वाधारहरू निर्माण गर्न थालेको गाउँपालिकाले जनाएको छ । आन्तरिक मात्र नभई बाह्य पर्यटक समेतलाई भित्र्याउने गरी तिम्बुङ पोखरी, ढङढङ्गे झरना लगायतलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने गरी पहल भइरहेको गाउँपालिका उपाध्यक्ष कृष्णकुमारी कडरिया (वन्दना) ले जानकारी दिनुभयो।

प्रतिक्रिया

सम्बन्धित