सुनसरीकाे रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सम्भाव्यता अध्ययन थालीयाे

इटहरी । सुनसरी जिल्लामा अवस्थित रामधुनी मन्दिरलाई रामायण सर्किटमा जोड्न सम्भाव्यता अध्ययन सुरु गरिएको छ। रामधुनी मन्दिर भगवान् रामले वनवासका क्रममा बास बसेको पौराणिक स्थलका रूपमा प्रसिद्ध छ। यस मन्दिरलाई रामायण सर्किटमा जोड्ने प्रयास रामधुनी बाबा वनखण्डी मन्दिर गुठी व्यवस्थापन समितिले लामो समयदेखि गरिरहेको छ। समितिका अध्यक्ष डिल्ली कार्कीका अनुसार यस सर्किटमा समावेश गर्न जानकी मन्दिरका महन्तसँग छलफल भइसकेको छ।

गुठी समितिले विगत पाँच वर्षदेखि रामधुनीलाई सर्किटमा समावेश गर्ने उद्देश्यले प्रयास गर्दै आएको छ। यसका लागि स्थानीय सरकार, प्रदेश सरकार, र संघीय सरकारको सिफारिसमा संस्कृति तथा पर्यटन मन्त्रालयलाई पत्र बुझाइएको छ। अध्यक्ष कार्कीका अनुसार संस्कृति मन्त्रालयले विज्ञ टोली गठन गरी रामका पाउ स्पर्श भएका क्षेत्रहरूको विस्तृत अध्ययन गर्नुपर्ने आवश्यकता छ।

रामधुनी मन्दिर पूर्वी नेपालको एक महत्त्वपूर्ण धार्मिक पर्यटन गन्तव्य हो। यहाँ रामधुनी तपोवनको पवित्र स्थलमा भगवान् रामले एक रात बिताएको पौराणिक कथा जोडिएको छ। रामले वनवासका क्रममा यस स्थानमा बास बसेर धुनी लगाएको र आफ्ना पाऊँका खराऊ त्यहीँ छाडेको विश्वास गरिन्छ। यसले गर्दा रामधुनी मन्दिरमा दैनिक रूपमा नेपाल र भारतका श्रद्धालुहरूको आगमन हुन्छ।

रामधुनी मन्दिरलाई रामायण सर्किटमा समावेश गर्न सके, यस क्षेत्रको धार्मिक पर्यटनमा ठूलो प्रगति हुने विश्वास छ। यो सर्किटले अयोध्या लगायत भगवान् रामसँग सम्बन्धित विभिन्न धार्मिक स्थलहरूलाई जोड्नेछ, जसले नेपाल र भारत दुवै देशका धार्मिक पर्यटकहरूको आकर्षण बढाउनेछ। धार्मिक, पौराणिक र ऐतिहासिक धरोहरका रूपमा रहेको यो मन्दिरले पूर्वी नेपालको धार्मिक, आर्थिक र सामाजिक विकासमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।

प्रतिक्रिया

सम्बन्धित