साफ महिला च्याम्पियनसिप : श्रीलंकामाथि भुटानको फराकिलो जित

काठमाडाैं ।साफ महिला च्याम्पियनसिपमा भुटानले पहिलो जित दर्ता गरेको दिन श्रीलंकाले भने पहिलो हार व्यहोरेको छ।त्रिपुरेश्वरस्थित दशरथ रगंशालामा सोमबार भएको समूह बी को पहिलो खेलमा भुटानले श्रीलंकामाथि ४–१ को फराकिलो जित दर्ता गरेको हो।भुटानले पहिलो खेलमा घरेलु टोली नेपालसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो। श्रीलंकाले पहिलो खेलमा मालदिभ्सलाई पराजित गरेको थियो। जितसँगै भुटानले अंक तालिकामा चार अंक जोडेको छ। श्रीलंकाको भने तीन अंक छ। श्रीलंकामाथि जित निकालेसँगै भुटानको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ। पराजित श्रीलंकाको पनि अन्तिम चारमा पुग्ने सम्भावना कायमै छ।

भुटानको जितमा डेकी लाजोनले दुई तथा नागमेल डेमा र दोर्जी एडोनले समान एक गोल गरे। श्रीलंकाका लागि थुसानी मधुसिकाको गोल सान्त्वना बन्यो।खेलको ७९ औँ मिनेटमा नागमेल पेमाको पासमा नागमेल डेमाले गोल गर्दै भुटानको अग्रता फराकिलो पारिन्। ७६ औँ मिनेटमा कप्तान पेमा छोडेन छिरिङको पासमा डेकी लाजोमले गोल गर्दै भुटानलाई ३–१ को अवस्थामा ल्याइन्।पहिलो हाफको सुरुवातमा नै भुटानले अग्रता बनाएको थियो। पहिलो हाफको सातौँ मिनेटमा नामगेल डेमाको क्रसमा डेकी लाजोनले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएकी थिइन्। 

खेलको २३ औँ मिनेटमा श्रीलंका खेलमा फर्किएको थियो। भुटानकी डेकी याङदोनलाई लाग्दै रिवाउण्ड भएको बललाई श्रीलंकाकी थुसानी मधुसिकाले पोस्टको जाली चुमाएकी थिइन्।खेलको ३२ औँ मिनेटमा नाङमेल डेमाको फ्रिकीक श्रीलंकाका डिफेन्डरले क्लीयर गरेपनि दोर्जी एडोनले नियन्त्रणमा लिर्दै भुटानको अग्रता दोब्बर पारिन्। आजै हुने समूह बी कै दोस्रो खेलमा घरेलु टोली नेपाल र मालदिभ्स खेल्नेछन्। सो खेल साँझ साढे ५ बजे सुरु हुनेछ। समूह चरणमा नेपालको एक अंक छ। अंकविहीन माल्दिभ्स भने तालिकाको पुछारमा छ।

प्रतिक्रिया

सम्बन्धित