अझै कार्यालय फर्किएनन् दशैं काजमा हिंडेका कर्मचारी

काठमाडौं । दशैंको सार्वजनिक बिदा सकिएको ३ दिन बितिसक्यो, आज चौंथो दिन लागिसक्दा पनि सरकारी कार्यालयहरुमा कर्मचारी र सेवग्राहीको उपस्थिति न्युन छ ।

काठमाडौंका सिंहदरबारसहित विभिन्न स्थानमा रहेका सरकारी कार्यालयहरुका धेरै कर्मचारी अझै काममा फर्किएका छैनन् । दशैंमा काज बिदा लिएर घर हिंडेका कर्मचारीहरु काठमाडौं फर्किन ढिलाइ गर्दा सरकारी कार्यालयहरु सुनसान बन्न पुगेका छन् ।

धेरै कर्मचारीले काज बिदाको भ्रमण आदेश स्वीकृत गरेर हिंड्दा कतिपय कार्यालयमा दैनिक कामकाज र सेवा प्रवाह प्रभावित छ । दशैंको सार्वजनिक बिदा २४ असोजदेखि सुरु भएको थियो भने २८ असोजसम्म मात्रै बिदा कायम थियो ।

आजसम्म पनि बिदामा हिंडेका धेरै कर्मचारीहरु कार्यालयमा हाजिर नहुँदा सरकारी पक्षले अनुगमन गर्न चासो दिएको छैन । सतर्कता केन्द्र समेत यस्तो अनुगमन गर्न रुचि देखाइरहेको छैन ।

विभिन्न मन्त्रालय/आयोग/विभागहरू र प्राधिकरण/सार्वजनिक संस्थानमा दशैंको बिदा सुरु हुनुभन्दा एक हप्ताअघि र बिदा सकिने दिनभन्दा एक हप्तापछि सम्मको काज स्वीकृत गरेर हिंड्ने गरेका छन् ।

यसरी धेरै कर्मचारीले काज स्वीकृत गर्दा सरकारी कार्यालयहरुका कार्यकक्षहरु नै सुनसान देखिन पुगेको सामान्य प्रशासन मन्त्रालयका एक अधिकारीले बताए । ‘दशैंमा धेरै कर्मचारीले काजका लागि भ्रमण आदेश स्वीकृत गराउने विकृति छ । यसो गर्दा उनीहरुले काज अवधिभर कार्यालयको सवारीसाधन प्रयोग गर्न पाउँछन्, ‘उनले भने, ‘अब आइतबारदेखि सरकारी कार्यालयमा भीडभाड बढ्न सक्छ, कर्मचरीहरु पनि धेरैजसो आइपुग्छन् ।’

काजको क्रममा कर्मचारीको श्रेणीअनुसार भ्रमण भत्ता समेत बुझ्न पाउँछन् । गाडी र विमानबाट यात्रा गर्दा सोको खर्च पनि सरकारी कोषबाटै व्यहोरिने भएकाले पहुँचवाला कर्मचारीहरुले सकेसम्म दशैंमा लामो काज स्वीकृत गराएर हिंड्ने गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित