विपक्षी दलहरुले सरकारलाई ध्यानाकर्षपत्र बुझाउने

काठमाडौं । प्रतिपक्षी दलहरूले सरकारलाई आउँदो कात्तिक ५ गते सरकारलाई ज्ञापन पत्र बुझाउने भएको छ । आज (शुक्रबार) संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले यस्तो निर्णय गरेको सहभागी एक नेताले जानकारी दिए । 

उनका अनुसार पछिल्लो राजनीतिक घटनाक्रम र बाढी–पहिरोलगायतका विषयमा विभिन्न सुझाव संकलन गरेर सरकारलाई ज्ञापन पत्र बुझाउने निर्णय भएको हो । बाढी–पहिरो पीडितलाई राहत तथा उद्धारमा भएको ढिलाइबारे प्रश्न गर्दै ज्ञापन पत्र बुझाउने तयारी विपक्षी दलहरूको छ ।

‘आगामी कात्तिक ५ गते प्रतिपक्षी दलका नेताहरूले प्रधानमन्त्रीलाई भेटेर ज्ञापन पत्र बुझाउने निर्णय भएको छ,’ ती नेताले सुनाए । विपक्षी दलहरूले सरकार जनताप्रति उत्तरदायी नभएको आरोप लगाएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा आज (शुक्रबार) नयाँ बानेश्वरमा बसेको विपक्षी दलहरूको बैठकले सरकार विपद्मा उदासीन भएको र जनताप्रति उत्तरदायी नभएको निष्कर्ष निकालेको हो ।

बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतले सरकारले पार्टीगत र निहित स्वार्थमा मात्रै ध्यान बताए । उपमहासचिव बस्नेतले सरकारलाई जनताप्रति उत्तरदायी बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउने बैठकमा सहमति भएको बताएका हुन् । उनले संसदको विशेष अधिवेशन बोलाउन माग गर्ने विषयमा पनि छलफल भएको बताए । 

प्रतिक्रिया

सम्बन्धित