बेलबारीमा कार र मोटरसाइकल ठोक्किँएर दुर्घटना : ड्युटी सकेर घर फर्किदै गरेका प्रहरी जवानको मृत्यु

इटहरी । मोरङको बेलबारी नगरपालिका–८ चिसाङ पुल नजिक आइतबार साँझ कार र मोटरसाइकल ठोक्किँदा नेपाल प्रहरीका एक जवानको मृत्यु भएको छ । कारसँग ठोक्किँदा मोटरसाइकलमा सवार प्रहरी जवान ३२ वर्षीय चित्रसागर राईको मृत्यु भएको प्रहरीले जनाएको छ । 

मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश १–०२–०४४ प ४९९६ नम्बरको मोटरसाइकल र पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ३–०१–०२४ च ०७३४ नम्बरको कार ठोक्किएर दुर्घटना भएको हो । प्रहरीका अनुसार संखुवासभाको सिलिचुङ गाउँपालिका–२ घर भएका राई सुनसरीको अस्थायी प्रहरी चौकी नडाहामा कार्यरत थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल ल्याइएको थियो । 

अस्पताल ल्याइपुर्‍याउन साथ चिकित्सकले मृत घोषित गरेका हुन् ।  शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । घटनास्थलको प्रकृति हेर्दा विपरीत दिशाबाट आउँदै गरेको कारको लेनमा पुगेर मोटरसाइकल ठोक्किए जस्तो देखिने प्रहरीले जनाएको छ । यद्यपि, अनुसन्धान सुरु गरिएकाले वास्तविकता विस्तारै खुल्ने डीएसपी जोशी बताउँछन् । दुर्घटना लगत्तै प्रहरीले कार र चालक मोरङको सुन्दरहरैंचा नगरपालिका–९ का ३० वर्षीय दुलाल मियाँलाई नियन्त्रणमा लिएको छ । 

प्रतिक्रिया

सम्बन्धित