कञ्चानुरमा बाढीले भत्काएको कल्भर्डमै खस्यो स्कुटर, युवकको मृत्यु

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–७ सुडा चोकमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार राति सुडा चोकस्थित बाढीले भत्काएको कल्भर्डमा अनियन्त्रित भएर स्कुटी खसेको हो ।

दुर्घटनामा परेर मृत्यु हुनेमा भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय भुवन भट्ट छन् । भीमदत्त नगरपालिका–१८ का २३ वर्षीय खेमराज भट्टले चलाएको सु.प्र. ०१००८ प ४०७७ नम्बरको स्कुटर भत्किएको कल्भर्डमा खसेको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीका अनुसार घाइते भुवनलाई उपचारका लागि महाकाली अस्पताल पुर्‍याउँदा राति साढे १० बजे चिकित्सकले मृत घोषणा गरेका थिए । स्कुटर चालक खेमराज घाइते छन् । उनको धनगढीको निसर्ग अस्पतालमा उपचार भइरहेको  छ ।

स्कुटर चालकले मापसे सेवन गरेको पाइएको प्रहरीले जनाएको छ । पूर्व पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत सुडा चोकको कल्भर्ड गत असार तेस्रो साता आएको बाढीले भत्किएको थियो । त्यहाँ कल्भर्ड अझै बनेको छैन । नजिकै डाइभर्ट गरेर सवारी साधन आवागमन गर्ने गरिएको छ । स्कुटी राजमार्गबाट सिधै कल्भर्डमा हुत्तिएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित