झापामा बाढीले पाँच करोडको क्षति

झापा । अविरल वर्षाका कारण झापाको कृषि क्षेत्रमा रु. पाँच करोड २१ लाखभन्दा बढीको क्षति भएको छ । वर्षाले जिल्लाका विभिन्न स्थानमा लगाइएको अन्नबाली नष्ट हुँदा रु. पाँच करोड २१ लाख ५१ हजार ९०० बराबरको क्षति भएको कृषि ज्ञान केन्द्रले जनाएको हो ।

झापा गाउँपालिका ४० दशमलव पाँच हेक्टरमा लगाएको धानबाली नष्ट हुँदा रु. ४८ लाख, गौरीगञ्ज गाउँपालिकामा एक सय हेक्टरमा लगाइएको धानबालीमा क्षति हुँदा रु. एक करोड ७७ लाख ९२ हजार तीन सय, भद्रपुरमा धानबाली र सागसब्जीमा क्षति पुग्दा रु. १९ लाख २६ हजार, गौरादहमा धानबाली र बाली गरेर रु. एक करोड ६० हजार र मेचीनगर नगरपालिकामा धान र सागसब्जीमा गरी रु. एक करोड ७५ लाख ७३ हजार छ सय बराबरको क्षति भएको छ । हालसम्म पाँचवटा पालिकाको क्षति विवरण प्राप्त भएको छ– केन्द्र प्रमुख विष्टले भने– विवरण सङ्कलन जारी छ ।

यता जलउत्पन्न प्रकोपका कारण झापामा डुबेर ६ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार किस्ने खोलामा आएको बाढीका कारण मात्रै तीन जनाको मृत्यु भएको हो । त्यस्तै कन्काई, मेची र जमुनामा एक–एकजनाको डुवेर मृत्यु भएको हो ।

गौरीगञ्ज– २ बस्ने ५५ वर्षीय केनालाल ताजपुरिया, गौरीगञ्ज–२ कै ७५ वर्षीय महेश्वर न्यौपाने र कमल– १ बस्ने मुसे भनिने ३५ वर्षीय टीकाराम चौधरीको कृष्णे खोलामा डुबेर मृत्यु भएको हो । ताजपुरिया खोलामा हामफालेका थिए भने न्यौपाने भैसी बाँध्न जाँदा डुबेर बेपत्ता भएका थिए । चौधरी भने खोलामा माछा मार्न जाँदा बेपत्ता भएका थिए ।

त्यस्तै स्थानीय जमुना खोलाले बगाएर कचनकवल–१की १४ वर्षीया नेहारिका राजवंशीको मृत्यु भएको थियो । बेपत्ता चारैजनाको शव लामो खोजतलासपछि मात्र फेला परेको थियो ।

त्यस्तै मेची र कन्काई नदीमा डुबेको अबस्थामा दुईवटा बेवारिसे शव फेला परेको थियो । ती दुवै पुरुषको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित