खोलिसकिएको दशैंको अग्रिम ‘टिकट बुकिङ’ बन्द गर्ने तयारीमा व्यवसायी

‘सबै सडक अवरुद्ध छन्, गाडी चलाउन सक्ने अवस्था छैन’

काठमाडौं । यातायात व्यवसायीहरूले दशैंको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् । बाढी–पहिरोका कारण सडक बिग्रिएको र टिकट काटेको समयमा गाडी उपलब्ध गराउन नसक्ने देखिएपछि व्यवसायीहरू अग्रिम टिकट बुकिङ रोक्ने तयारी गरेका हुन् । यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत असोज १२ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए ।

नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले विपद्का कारण बस सञ्चालन हुन सक्ने अवस्था नदेखिएकाले बुकिङ बन्द गर्ने तयारी भएको जानकारी दिए । ‘चार दिनअघिका गाडी हिजो काठमाडौँबाट छुटेका छन् । गाडी बाटोमै अलपत्र छन् । काठमाडौंदेखि नै लाइन छ । उनीहरू पुगेर फर्कने कहिले हो ? निश्चित छैन’,

सिटौलाले सुनाए, ‘यता यात्रुलाई टिकट दिएपछि घर जाने तयारी गर्छन् । समयमा गाडी उपलब्ध गराउन सकिएन भने अर्को समस्या उत्पन्न हुन्छ । त्यसैले अग्रिम बुकिङ बन्द गर्नु नै बेस हुने देखिएको छ । तर, निर्णयमा पुगिसकेका छैनौं ।’
आजै सरकार पक्षसँग छलफल गर्न लागिएको उनले बताए । संसद्को राज्य व्यवस्था समिति, यातायात व्यवस्था विभाग लगायतसँग छलफल गर्न लागिएको उनको भनाई छ । धेरै यात्रुहरूले १७ असोजदेखिको टिकट बुकिङ गरिसकेका छन् । बस सञ्चालनबारे के गर्ने भन्ने विषयमा आजको छलफलबाट निष्कर्ष निस्किने वरिष्ठ उपाध्यक्ष सिटौलाले जानकारी दिए ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी ईश्वरी दत्त पनेरुले कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्न आज दिउसो ३ बजेका लागि बैठक डाकिएको जानकारी दिए । ‘अग्रिम टिकट बुकिङ बन्द गर्ने भन्दा पनि अब कसरी सहज गर्न सकिन्छ भन्ने विषयमा छलफलका लागि बैठक डाकिएको हो’, उनले भने । शुक्रवारदेखि आएको बाढी–पहिरोले काठमाडौँ उपत्यकालगायत देशका धेरै ठाउँमा ठूलो क्षति पु¥याएको छ । बाढी पहिरोले सडक र पुलमा समेत क्षति पुगेको छ । जसका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको छ ।

प्रतिक्रिया

सम्बन्धित