बाढीले सुनसरीकाे कृषि क्षेत्र तहस नहस : अरबाैकाे नाेक्सान

इटहरी । सुनसरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए । उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघाको करिब ४० हजार खर्च गरेका थिए । केही दिनदेखि परेको अविरल वर्षासँगैको बाढीले उनीसँगै जिल्लाका अधिकांश किसानका धानखेतीमा क्षति पुर्‍याएको समाजसेवी राजकिशोर मेहताले बताए । प्रतिबिघा ४० हजार लगानी गरेर खेती गर्नु आम किसानका लागि सामान्य कुरा नभएको उनको भनाइ छ ।

देवनारायणले खेतीमा लगानी गर्दा चिन्ता लिएका थिएनन् तर अहिले बाढीबाट क्षति भएपछि वर्षभरि के खाने भन्ने चिन्तामा उनी छन् । उनले करिब दुई बिघामा धानखेती गरेका थिए । देवनारायणले खेतीको बिमा नगरेकाले पनि थप चिन्ता थपेको समाजसेवी मेहताले बताए । देवनारायणले घुटराज जातको धान लगाएका थिए । पाकेर भित्र्याउने बेला आएको पानीले खेतीसँगै किसानको लाखौंको लगानीमा क्षति भएको स्थानीय किसान रामवृक्ष मेहताले उल्लेख गरे । भोक्राहा नरसिंहसहित जिल्लाका विभिन्न स्थानमा घुटराज धान लगाउने किसान अहिलेको वर्षाबाट बढी प्रभावित भएका उनले बताए ।

भोक्राहा नरसिंह गाउँपालिकामा मात्र घुटराज धान रोपाइँ गर्नेमा देवनारायणसहित जमाहर मेहता, श्यामदेव मेहता, जोगिन्दर मेहतालगायत छन् । यहाँ करिब ४० बिघा जमिनमा यो धान रोपाइँ भएको स्थानीय जमाहर मेहताले जानकारी दिए । लगातारको वर्षाले धान खेतमा खसेको र पानी नसुकेपछि खेतमै उम्रिने उनले बताए । किसानले वार्षिक रुपमा मजदुकारको अभावका साथै आर्थिक सङ्कट, मल तथा बिउ अभावका बीच पनि खेती गर्दै आएका जमाहरले बताए । ‘सिँचाइका लागि पानी आवश्यक भएका बेला नपर्ने, अहिले धान काटेर भित्राउने बेला परेको पानीले खेती सबै नष्ट गरेको छ’, उनले भने ।

यसैबीच लगातार वर्षासँगै आएको बाढीबाट विस्थापित भएकाहरु घर फर्किन थालेका छन् । जिल्लाको विभिन्न स्थानीय तहमा बाढीबाट विस्थापित भई सार्वजनिक स्थानमा बसेकाहरु फर्किन थालेका सशस्त्र प्रहरी बल ४ नं गण सुनसरीका प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए । कोशी–४ मा बाढीबाट डुबानमा परेका ४० परिवार घर फर्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुमन तिम्सिनाले जानकारी दिए । हरिनगर गाउँपालिकामा केही बाढीपीडित अहिले पनि सार्वजनिक स्थानमा रहेको भन्दै पालिकाले अस्थायी बासस्थान र खानाको व्यवस्थापन मिलाएको गाउँपालिकाका अध्यक्ष गफार अन्सारीले बताए ।

सुनसरी खोला र मरिया खोलाको बाढीले गाउँपालिकाका कतिपय स्थान आंशिक डुबानमा परेका भन्दै वडा नं २ र ४ का पीडित घर फर्किन थालेका छन् भने वडा नं ५ र ७ का पीडित अहिले पनि सार्वजनिक स्थानमा बसिरहेका उनले जानकारी दिए । बाढीले गाउँपालिकाको करिब एक सय बिघामा पाकेको धानखेती तथा एक सय बिघा तरकारी खेतीमा क्षति गर्नुका साथै दुई किलोमिटर सडक कालोपत्र भत्काएको अध्यक्ष अन्सारीले जानकारी दिए ।  

खेती गर्ने बेलामा मजदुर, मल, पानी अभाव भए पनि गरिएको तरकारी, धान र सनपाटको खेती भित्र्याउने बेलामा आएको बाढीले नष्ट गरिदिएको किसान चन्दन मेहताले बताए । दसैँ नजिकिएसँगै बिक्रीका लागि तयार पारिएको कोपी, वैगुन, परबल, भिण्डी, करेला, लौका, फर्सी, घिरौँला, काक्रालगायत तरकारी बालीमा बाढीले क्षति पुर्‍याएको उनको भनाइ छ । बाढीले विभिन्न ठाउँमा भत्काएको सडकको सम्बन्धित स्थानीय तहले मर्मतसम्भार गर्न सुरु गरिसकेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाढीबाट जिल्लामा भएको क्षतिको यकिन विवरण आउनेक्रम जारी रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित