जुगलको तेगागाउँ पहिरो : सात जनाको अवस्था अझै अज्ञात

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ को तेगागाउँमा शनिबार गएको पहिरोमा परी अझै सात जना बेपत्ता छन् । तेगागाउँमा पहिरोले ३ वटा घर पुरिएका छन् । माथिल्लो तेगाबाट भूभाग भास्सिएर आएको पहिरोले ध्वस्त तुल्याएको गाँउका स्थानीयको उद्धार प्रयास भइरहेको जुगल गाँउपालिकाका अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिएका छन् ।

पहिरोमा स्थानीय मिङ्मार रिन्जेन शेर्पा, लाक्पा शेर्पा र पेम्बा शेर्पाको घर पूर्णरुपमा क्षति भएको छ । पहिरोले घर पुरिएकासहित गरी स्थानीय शाङ्मो शेर्पा, ढेन्डु शेर्पा, साडलो शेर्पा, ढोमा शेर्पा गरी ७ जना सम्पर्कमा छैनन् । जुगल गाँउपालिका–३ का अगुवा साइला शेर्पाले त्यहाँ हिडेर जान गाह्रो र जोखिमपूर्ण भएकाले त्यँहाको यर्थाथ विवरण नआइसकेको बताए ।

पहिरो गएको ठाउँको अवस्थाबारे बुझ्न तेगा गएका तेम्बाथानका केही स्थानीय बीच बाटैबाट फर्किएको अध्यक्ष स्याङ्बोले बताए । ‘गाँउपालिकाबाट नेपाली सेना र अन्य हेलिकप्टर लैजाने प्रयासमा छौँ, तत्काल उद्धारका लागि सुरक्षाकर्मी र अन्यलाई खबर भइरहेको छ, त्यँहा नेटवर्क र बिजुली दुवै नभएकाले सम्पर्क गर्न सकिएको छैन्’, स्याङ्बोले सुनाए ।

प्रतिक्रिया

सम्बन्धित