घट्न थाल्यो सप्तकोशीको बहाव, पुलमाथि थुप्रियो फोहोरको डंगुर

सप्तकोशीले बनायो साढे ६ लाख क्युसेक बढीको रेकर्ड

इटहरी। सप्तकोशी नदीमा पानीको बहावले अति खतराको संकेत पार गर्दै साढे ६ लाख क्युसेकभन्दा बढीको रेकर्ड बनाएर विस्तारै घट्न थालेको छ । आज (आइतबार विहान कोशी ब्यारेजमा सवैभन्दा उच्च बहाव ६ लाख ६१ हजार ०५ क्युसेक रेकर्ड बनेको थियो । अहिले जलसतह घट्न थालेको छ । पछिल्लो विवरण अनुसार अहिले ६ लाख ५५ हजार ५ क्युसेक बहाव मापन भएको छ ।

उच्च बहावका कारण ४८ घण्टायता कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन् । ६ लाख २१ हजार क्युसेक बहाव भएपछि ब्यारेज माथिबाटै पानी बगेको थियो । शनिबार साँझदेखि देशभर पानी पर्न रोकिए पनि कोशी नदीको बहाव भने बढेको बढ्यै थियो। कोशी नदीमा लेदोयुक्त बाढी अत्याधिक रहेको छ ।

बाढी व्यवस्थापन सुधार सहायता केन्द्र पटनाले जारी गरेको पूर्वानुमान अनुसार वीरपुरस्थित कोशी ब्यारेजबाट ६ लाख ८१ हजार क्युसेक पानीको बहाव हुने आंकलन गरिएको थियो । जुन हालसम्मको अधिकतम बहावको नजिक हुने जनाइएको थियो । बाढीले सप्तकोशी नदीले पुलमाथि फोहोरको डंगुर थुपारिदिएको छ ।

लगातारको वर्षाका कारण सप्तकोशीको पानी कोशी ब्यारेजको पुलमाथि बग्न थालेपछि पुलमा फोहोरको डङ्गुर थुप्रिएको हो । शनिवार सप्तकोशीको पानीले खतराको तह पार गर्दै पुलमाथिबाट बग्न थालेको थियो । पानीको ठूलो बेगले सप्तकोशी नदीमा रहेका फोहोरको डंगुर पुलमा थुप्रिएको छ । प्लास्टिकका बोतल र लेदोसहितको फोहोर पुलमा जम्मा भएपछि अहिले आवतजावतमा समस्या भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित