धरानको सिटी होटलमा अवैध यौन व्यवसाय सञ्चालन गरेकाे आरोपमा होटल सञ्चालकसहित तीनजना पक्राउ

धरान / सुनसरीको धरान उपमहानगरपालिका–८ मा रहेको सिटी होटलमा अवैध यौन व्यवसाय सञ्चालन गरेको आरोपमा प्रहरीले छापा मारेर तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नविनकृष्ण भण्डारीका अनुसार, पक्राउ परेकाहरूमा होटल सञ्चालक पेमा ल्हामु शेर्पा र दुई अन्य व्यक्ति (एक पुरुष र एक महिला) रहेका छन्। अनुसन्धान जारी रहेको भन्दै प्रहरीले अन्य पक्राउ परेकाहरूको नाम गोप्य राखेको छ।

प्रहरीले मंगलबार होटलमा छापा मार्दा, शेर्पाले होटलमा आउने ग्राहकहरूसँग अवैध यौन क्रियाकलापमा संलग्न भई पैसाको लेनदेन गर्दै आएको फेला परेको हो। अनुसन्धानबाट पाइएको विवरण अनुसार, ग्राहकहरूले प्रति रात ५ हजार रुपैयाँ तिर्ने गर्थे, जसमा १५ सय रुपैयाँ होटल भाडाका लागि छुट्याइन्थ्यो भने १ हजार होटल सञ्चालकको कमिसनका रूपमा राखिन्थ्यो।

प्रहरीले यौन व्यवसायका लागि होटलमा आधा दर्जनभन्दा बढी युवतीहरू राखिएको सूचना पाएपछि छापा मारेको हो। इलाका प्रहरी कार्यालय धरानका डीएसपी प्रकाश जबेगुले अवैध गतिविधिहरू नियन्त्रण गर्न प्रहरी सक्रिय रूपमा काम गरिरहेको बताए। उनले धरानमा अवैध यौन व्यवसाय रोक्न प्रहरीको पहिचान प्रक्रिया चलिरहेको र कानुनी कारबाही अगाडि बढाइएको जानकारी दिए।

यस्ताे छ कानुनी पक्ष

नेपालमा ‘व्यवसायिक यौन क्रियाकलाप नियन्त्रण ऐन, २०६३’ अन्तर्गत यौन व्यवसाय गैरकानुनी मानिन्छ। यस ऐन अनुसार यौन व्यवसायमा संलग्न व्यक्तिहरूलाई जरिवाना र कैदको सजाय हुने प्रावधान छ। त्यस्तै, होटल सञ्चालकहरूलाई पनि यौन व्यवसायमा मुछिएको पाए कानुनअनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।

प्रहरीको प्रारम्भिक छानबिनले धरानका अन्य स्थानहरूमा पनि यस्ता अवैध गतिविधिहरू भइरहेको सूचना फेला परेको छ। डीएसपी जबेगुले छिट्टै थप कारबाही गरिने र अवैध यौन व्यवसायलाई पूर्ण रूपमा अन्त्य गर्न प्रहरी प्रतिबद्ध रहेको बताए।

प्रतिक्रिया

सम्बन्धित