इटहरी अस्पतालमा बिरामीको मृत्युपछि तनाबः उचित ध्यान नदिएको आक्रोश (भिडियाे )

इटहरी । उपचारका लागि ल्याइएका एक बिरामीको मृत्यु भएपछि इटहरी ९ स्थित सामुदायिक अस्पतालमा केही समय तनावग्रस्त अवस्था सिर्जना भएको छ। गत साेमबार इटहरी ७ का ७३ वर्षीय दलबहादुर तामाङको निधनपछि अस्पताल परिसर केहीबेर तनावपूर्ण बनेको हो। बिरामीका आफन्तहरूले उपचारमा ढिलाइ भएको आरोप लगाउँदै अस्पतालमा हो-हल्ला गरेका थिए।

शुक्रबार ज्वरो आएर अस्पताल भर्ना गरिएका बिरामीलाई उपचारपछि घर फिर्ता लगिएको थियो। तर, आइतबार पुनः ज्वरो आएपछि बिरामीलाई अस्पताल ल्याउँदा चिकित्सकहरूले आपतकालीन कक्षमा राखेर समेत उचित ध्यान नदिएको भन्दै बिरामीको निधन भएको आफन्तहरूको भनाइ छ।

मृत्यु भएपछि अस्पताल प्रशासन, वडाध्यक्ष जितेन्द्र थापा, र बिरामीका आफन्तबीच करिब तीन घण्टा लामो छलफल भएको थियो। छलफलमा अस्पताल प्रशासनले बिरामीको उपचारमा कुनै लापरबाही नभएको, जन्डिसका कारण बिरामीको मृत्यु भएको दाबी गरेको छ।

अस्पताल प्रमुख डा. पुजा भट्टराईले बिरामीको जन्डिसको स्थिति गम्भीर बनेका कारण निधन भएको बताइन्। उनका अनुसार, सबै रिपोर्टले देखाउँछ कि बिरामीलाई ढिलो अस्पताल ल्याइएको थियो र बिरामी पहिले नै जन्डिसको अन्तिम चरणमा रहेका थिए, जसले गर्दा मृत्यु भयो।

प्रतिक्रिया

सम्बन्धित