इलामको सन्दकपुरमा श्रीमतीको हत्या गरेर आफैले पनि त्यागे संसार

इलाम । इलामको सन्दकपुर गाउँपालिका–१ भित्तेमा गए राति एक व्यक्तिले श्रीमतीको हत्या गरेर आफै पनि आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका–१ भित्तेका ४६ वर्षीय उर्जबहादुर राईले ४० वर्षीया श्रीमती फूलमाया राईको गए राति हत्या गरी आत्महत्या गरेका हुन् ।

राईले चियाको बोट कलमी गर्ने खुर्पाले टाउको, कुम र शरीरको विभिन्न भागमा प्रहार गरेको देखिएको वडाध्यक्ष रहर राईले जानकारी दिए । श्रीमतीको हत्या गरी घरदेखि अन्दाजी १५ मीटर तल बाटोमा शव फ्याँकेर घरदेखि डेढ सय मीटर तल रुखमा झुण्डिएको अवस्थामा उर्जबहादुरलाई भेटिएको पनि उनले जानकारी दिए ।

उर्जबहादुरका बुबा दूध पु¥याउन डेरी जाने क्रममा बाटोमा बुहारीको शव देखेपछि खबर गरेका थिए । मृतकहरुको २६ र २० वर्षका दुई छोरा छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउने काम गरिरहेको छ । श्रीमान श्रीमती दुवै मदिरा सेवन गर्ने र सामान्य घर झगडा भइरहने गरेको छिमेकीहरु बताउँछन् । प्रहरीले घटनाबारे थप अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित