काठमाडौँ उपत्यकामा आज ३ महिनायताकै उच्च तापक्रम

काठमाडौँ । काठमाडौँ उपत्यकामा आज (असोज ७) तापक्रम ३ महिनायताकै उच्च भएको छ। मौसम पूर्वानुमान महाशाखाको तथ्यांकअनुसार आज (सेप्टेम्बर २३) उपत्यकाको अधिकतम तापक्रम ३३.२ डिग्री सेल्सियसमा उक्लिएको हो। 

महाशाखाको तथ्यांक विश्लेषण गर्दा उपत्यकाको यो तापक्रम ३ महिनायताकै उच्च भएको पाइएको हो।सअघि जुलाई १४ का दिन काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३४.८ डिग्री सेल्सियस थियो। त्यसयता आज नै उपत्यकाको अधिकतम तापक्रम सबैभन्दा उच्च भएको हो।

यही महिना अर्थात् सेप्टेम्बर १५ र १९ तारिखमा उपत्यकाको अधिकतम तापक्रम ३२ डिग्रीसम्म उक्लिएको छ तर आज त्यसभन्दा पनि माथि पुगेको हो। मौसम महाशाखााका मौसमविद् गोविन्द झाले एक/दुई दिनदेखि काठमाडौँ उपत्यकामा पानी खासै नपरेको तथा आज दिनभर आकाशमा बादल पनि नलागेकाले अधिकतम तापक्रम बढेको हो। 

‘दिउँसो चर्को घाम लागेपछि अधिकतम तापक्रम बढिहाल्छ’, उनले  भने, ‘अब भोलि (मंगलबार) देखि देशव्यापी रूपमा मौसम बदली र वर्षा हुने सम्भावना देखिएको छ, त्यसकारण तापक्रम घट्नेवाला छ।’

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम भने २०‍.४ डिग्री सेल्सियस देखिएको छ। उनका अनुसार हाल मूलतः तापक्रम घट्दै जाने ट्रेन्डमा छ। ‘अब तापक्रम उकालो लाग्दैन, घट्दै नै जाने हो’, मौसमविद् झाले भने।   

प्रतिक्रिया

सम्बन्धित