सेवा विस्तार गर्दै बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल

चितवन । क्यान्सर उपचारका लागि देशकै प्रमुख अस्पतालका रूपमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सेवा विस्तार गर्ने भएको छ । अस्पतालले दुईवटा फार्मेसी र डेन्टल सेवा थप गर्न लागेको हो । बिरामीको चाप बढ्दै गएपछि सेवा विस्तार गर्न लागिएको कार्यकारी निर्देशक डा. शिवजी पौडेलले जानकारी दिए ।

हाल अस्पतालमा दुईवटा फार्मेसी सञ्चालनमा छन् । ती फार्मेसीमा बिरामी चाप अत्यधिक भएपछि थप गर्न लागिएको उनको भनाइ छ । अस्पतालमा डेन्टल क्यान्सर भएका बिरामीलाई उपचार दिन डेन्टल सेवा सञ्चालनको काम अगाडि बढेको कार्यकारी निर्देशक पौडेलले जानकारी दिए । 

अस्पतालका उपनिर्देशक डा. उमेश नेपालले अस्पतालमा थन्किएर रहेको सिटीस्क्यान मेसिन मर्मत गरी सञ्चालनमा ल्याइएको र हाल इन्टरभेन्सन रेडियोलोजी सेवासमेत सुरु बताए । महिलाको स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम उपकरण सञ्चालनमा ल्याउन जडानको काम भइरहेको उनले जानकारी दिए ।

‘बोनम्यारो ट्रान्सप्लान्टका लागि काम अघि बढेको छ । अस्पतालले पेटस्क्यान र साइक्लोटोन खरिदको प्रक्रिया अघि बढाएको छ । सिटी एमआरआईलगायतका लागि पालो कुर्नुपर्ने अवस्था करिब अन्त्य भएको छ । अस्पतालका सेवा विस्थार र व्यवस्थापनका काम निरन्तर अगाडि बढाइरहेका छौँ’, उनले भने । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा. विजय न्यौपानेले अस्पतालमा बिरामीको चाप बढ्दै गएकाले सोहीअनुसार आफूहरूले योजना बनाइरहेको सुनाए ।

प्रतिक्रिया

सम्बन्धित