अमेरिकामा प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच भेटवार्ता हुने

एजेन्सी। अमेरिका भ्रमणमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने भएका छन् । संयुक्त राष्ट्र संघको कार्यक्रममा सहभागी हुन शनिबार बिहान अमेरिका पुगेका प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच साइडलाइन भेटवार्ताको समय तय भएको हो ।  

दुई प्रधानमन्त्रीबीचको भेट नेपाली समयअनुसार सोमबार बिहान ३ः४५ बजे हुने प्रधानमन्त्री मोदीको सचिवालयले जनाएको छ । यद्यपि समयमा केही हेरफेर हुन सक्ने सचिवालयले उल्लेख गरेको छ । भेटमा इपीजीको प्रतिवेदन, सीमा समस्या लगायत विषयमा कुराकानी हुने बताइएको छ ।

गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि ओलीले दिएको ईपीजी र सीमा सम्बन्धका अभिव्यक्तिबारे भारत असन्तुष्ट छ । भेटमा नेपाल र भारतबीचको सम्बन्ध, दुई देशबीचको उच्चस्तरीय भ्रमण लगायत विषयमा पनि कुराकानी हुने परराष्ट्र मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् । 
 

प्रतिक्रिया

सम्बन्धित