काठमाडौँसहित देशका विभिन्न ठाउँमा एकैदिन ८ व्यक्ति मृत फेला, ७ जना पुरुष

काठमाडाैं । देशका विभिन्न ठाउँमा एकैदिन ८ जना व्यक्ति मृत अवस्थामा फेला परेका छन्। प्रहरीका अनुसार, काठमाडौँ, ललितपुर, कञ्चनपुर, दैलेख, नवलपरासी पश्चिम, धनुषा, महोत्तरी र पर्वतमा गरी ८ जना व्यक्ति बिहीबार एकै दिन मृत फेला परेका हुन्। जसमा ७ जना पुरुष र एक जना महिला रहेका छन्। 

प्रहरीका अनुसार, काठमाडौँको टोखा नगरपालिका–३ पञ्चेटार बस्ने ६२ वर्षीय शोबिलाल श्रेष्ठ कुलोमा मृत अवस्थामा फेला परेका हुन्। त्यस्तै, ललितपुरको गोदावरी नगरपालिका–९ चुन्निखेल छम्पी बस्ने ५७ वर्षीय मधु सुदन नेपाली बुंगमती कुलोमा गोरेटो बाटोमा मेत भेटिएका हुन्। 

उता कञ्चनपुरमा पनि ४१ वर्षीय एकजना पुरुष मृत अवस्थामा फेला परेका छन्। बेदकोट नगरपालिका–३  भम्कास्थित सडक छेउमा डडेल्धुराको आलीताल गाउँपालिका–७ का जोगी महरा मेत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दैलेखको भैरवी गाउँपालिका–४ लिउडाका ६७ वर्षीय नरेश्वर जैसी पनि सोही वडाको बालिकाँडामा मृत अवस्थामा फेला परेका हुन्। 

त्यस्तै, नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका–१४ विजगनगरका ५१ वर्षीय देवप्रसाद पिरमाल खरबारीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। मधेस प्रदेशको धनुषामा पनि ७० वर्षीया महिला मृत भेटिएकी छिन्। लक्ष्मिनियाँ गाउँपालिका–१ सोहनी टोल बस्ने ७० वर्षीया दलतिया देवी महरा सोही ठाउँको पोखरीमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

त्यस्तै महोत्तरीको जलेश्वर नगरपालिका–९ पर्कौली चोकमा नाम, थर नखुलेका अन्दाजी ७० वर्षीय पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। 

यता, पर्वतको कुश्मा नगरपालिकामा पनि एक पुरुष मृत फेला परेका छन्। उनको पनि नाम, थर खुलेको छैन। कुश्मा नगरपालिका–६ बान्द्रवेणी नजिकै रहेको कुष्ण मन्दिरको चौरमा अन्दाजी ४५ वर्षीय पुरुष बिहीबार मृत फेला परेको प्रहरीले जनाएको छ। प्रहरीले यी सबै घटनाबारे थप अनुसन्धान अघि बढाएको छ।

प्रतिक्रिया

सम्बन्धित