सुडान घोटाला प्रकरण : पूर्व आईजीपी राणाको मुद्दामा सर्वोच्चले मगायो फाइल

काठमाडौं । सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरीक्षक (आइजिपी) ओमविक्रम राणाको मुद्दामा सम्बन्धित फाइल मगाउने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलास शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय र अरु सम्बन्धित फाइल मगाउने आदेश गरेको हो ।

गत साउन १८ गते पूर्व महानिरीक्षक राणाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।  सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका उनले आफ्नो निवृत्तिभरण रोकिएको विरुद्ध रिट दायर गरेका हुन् । सो रिटमा साउन १८ गते न्यायाधीश विनोद शर्माको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भइ कारण देखाउ आदेश र अन्तरिम आदेशसम्बन्धीमा छलफलका लागि विपक्षीलाई बोलाउने आदेश भएको थियो । सुडानका लागि शान्ति मिसनमा जाने प्रहरीको बन्दोबस्तीको सामान किन्ने सम्झौतामा घोटाला भएको भन्दै विशेष अदालत र सर्वोच्च अदालतले तत्कालीन महानिरीक्षक राणासहित अन्य संलग्नहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।

सर्वोच्च अदालतका तत्कालीन प्रधान न्यायाधीश सुशीला कार्की र न्यायाधीश  विश्वम्भरप्रसाद श्रेष्ठको संयुक्त इजलासले विशेष अदालतकै फैसला सदर गर्दै राणासहितका विपक्षीलाई दुई वर्ष कैद गर्ने फैसला कायम राखेको थियो भने जरिवाना रकम केही घटाएको थियो । कैद सजाय भुक्तान गरिसकेका राणालाई पेन्सन उपलब्ध नगराउन अख्तियारले निवृत्तिभरण व्यवस्थापन कार्यालयलाई पत्र लेखेपछि उनको पेन्सन रोक्का भएको थियो । सोहीविरुद्ध राणाले सर्वोच्चमा रिट दायर गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित