प्रहरीमा इन्स्पेक्टरदेखि एआईजीसम्म १२९ पद रिक्त

काठमाडौं । नेपाल प्रहरीमा उच्च तहका पदहरु ठूलो संख्यामा खाली भएका छन् । ३० वर्षे सेवा अवधिका कारण एकै पटक ९० प्रहरी अधिकृतहरु अवकाशमा गएसँगै ठूलो संख्यामा पदहरु खाली बनेका हुन् । उमेर हदका कारण अतिरिक्त महानिरीक्षक (एआईजी) समेत अवकाशमा गएपछि अहिले एआईजीदेखि इन्स्पेक्टरसम्म १२९ पद रिक्त छन् ।
 

एआईजीको ५६ वर्षे उमेर हदका कारण श्यामलाल ज्ञवाली २६ भदौमा अनिवार्य अवकाश गएका थिए । उनी अवकाश गएसँगै अहिले एक एआईजीको पद रिक्त छ । एक एआईजी पदका लागि करिब एक दर्जन डीआईजीहरु प्रतिस्पर्धामा छन् ।

डीआईजीहरु बुद्धिराज गुरुङ, दुर्गा सिंह, किरण राणा, कुवेर कडायत, केदार ढकाल, भरतबहादुर बोहरा, रविन्द्र केसी, राजेशनाथ बाँस्तोला, चन्द्रकुवेर खापुङ, जनक भट्टराई, लालमणि आचार्यलगायत डीआईजी बढुवाको प्रतिस्पर्धामा छन् । यसबाहेक प्राविधिकतर्फको एआईजी पनि रिक्त छ । नेपाल प्रहरी अस्पतालकी प्रमुख एआईजी आशा सिंह १० साउनमा अवकाश गएपछि उक्त पद अहिलेसम्म रिक्त छ । अस्पतालको प्रमुख बन्न डीआईजीहरु सुन्दरप्रसाद ह्योजु, सञ्जयविक्रम श्रेष्ठ र गोपेशकुमार ठाकुर प्रतिस्पर्धामा छन् ।

नेपाल प्रहरीमा १ प्राविधिकसहित ८ एआईजीको दरबन्दी छ । जसमध्ये अहिले दुई एआईजी पद रिक्त छन् । त्यसैगरी अहिले नेपाल प्रहरीमा प्रशासनतर्फ चार डीआईजीको दरबन्दी खाली छ । एक डीआईजी रिक्त रहेको एक एआईजीमा बढुवा भएसँगै पाँच डीआईजीको पद खाली हुन्छ । त्यसका लागि दुई दर्जनभन्दा बढी एसएसपीहरु प्रतिस्पर्धामा छन् ।

प्रतिस्पर्धी एसएसपीहरुमा क्रमश धु्रवबहादुर राउत, भोलाबहादुर रावल, गणेश चन्द, सिद्धिविक्रम शाह, सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बरबहादुर विक, ओमबहादुर राना, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल, गोविन्द थपलियालगायत दुई दर्जन एसएसपी प्रतिस्पर्धामा छन् ।

प्राविधिकतर्फ पनि २ डीआईजीको पद रिक्त छ । एसएसपीमा ४ प्राविधिकसहित १६ जना, एसपीमा २ प्राविधिकसहित १४ जना, १ प्राविधिकसहित ३७ डीएसपी, २९ प्राविधिकसहित ५४ इन्स्पेक्टरको दरन्दी अहिले रिक्त छ । इन्स्पेक्टरदेखि एआईजीसम्म अहिले १२९ दरबन्दी रिक्त छ । प्रहरीमा हरेक वर्ष ६ साउनदेखि २२ असोजसम्म कासमू (कार्यसम्पादन मूल्यांकन) भर्ने चलन छ ।

प्रतिक्रिया

सम्बन्धित