शिक्षक खोज्दै विद्यार्थीहरु सडकमा

गौर । आम जनता पार्टी (आजपा) निकटको आम विद्यार्थी मोर्चाले विद्यार्थीको अनुपातमा शिक्षक माग गर्दै सडक आन्दोलन थालेका छन् । मधेसमा विद्यार्थी अनुपातमा शिक्षक नभएको भन्दै उनीहरु आन्दोलित भएका हुन् । आज राष्ट्रिय शिक्षा दिवस सरकारले मनाउँदै गर्दा मधेसका विद्यार्थीहरु शिक्षकको माग गर्दै सडक आन्दोलनमा उत्रिएका छन् ।  

वीरगञ्ज र गौरमा आम विधार्थी मोर्चाले आज प्रदर्शन गरेको छ । आम विधार्थी मोर्चाका इञ्चार्ज उमेश कुशवाहाको नेतृत्वमा वीरगञ्जमा र विधार्थी मोर्चाका केन्द्रीय अध्यक्ष विवेक साहको नेतृत्वमा गौरमा प्रदर्शन भएको हो । प्रदर्शनमा विद्यार्थी, शिक्षक, अभिभावकका साथै स्थानीयको सहभागिता छ । 

विद्यार्थीको अनुपात तहगत र बिषयगत शिक्षकको व्यवस्था गर्न सरकारसँग पटक–पटक माग गर्दा समेत कुनै सुनुवाई नगरेपछि बाध्य भएर आन्दोलनमा उत्रिनु परेको विद्यार्थी मोर्चाका अध्यक्ष साहले बताएका छन् । मधेसको शिक्षालाई सरकारले योजनाबद्ध तरिकाले तहसनहस गर्न खोजेको आरोप उनले लगाए । 

‘हामीले सरकारलाई पटक–पटक यसबारे ध्यानाकर्षण गरायौं । मधेसको शिक्षाको बिकासका लागि सरकारले केही गर्न मान्दैन् । विद्यार्थी अनुपातमा शिक्षक व्यवस्था गर्नुपर्ने माग गर्दै हामीले सरकारलाई आग्रह गरे पनि कुनै सुनुवाई नभएपछि हामी बाध्य भएर आन्दोलनमा उत्रिएका छौं’ विधार्थी मोर्चाका अध्यक्ष साहले भने ।  

सरकारलाई पटक–पटक आग्रह गर्दा समेत विद्यार्थीको भविष्यसँग खेलवाड गरेको आरोप आन्दोलनकारीको छ । आजपा मधेस प्रदेश कमिटीले समेत शिक्षकको माग गर्दै आम शैक्षिक हडतालका साथै आन्दोलनका बिभिन्न कार्यक्रम घोषणा गरेको छ । मधेसमा कार्तिक ५ गतेदेखि शैक्षिक आम हड्ताल घोषणा गरेको आजपाले त्यसअघि आन्दोलनका बिभिन्न कार्यक्रम गरिरहेको छ । 

आजपाले मधेसका जिल्लाहरुमा भदौ २५ गतेदेखि ३० गतेसम्म प्रत्येक विद्यालयहरुमा संघर्ष समिति गठन गरेको छ । मधेसका बिभिन्न जिल्ला र प्रमुख शहरहरुमा असोज २ गतेदेखि ४ गतेसम्म विद्यार्थीहरुको विशेष प्रर्दशन गर्ने कार्यक्रम रहेको छ । संविधान दिवसकै दिन असोज ३ गते संविधानको अन्त्येष्टी यात्रा प्रत्येक जिल्लामा निकाल्ने र वीरगञ्ज, जनकपुरमा विशेष प्रदर्शन गर्ने कार्यक्रम रहेको आजपाले जनाएको छ । 

यसैगरी असोज ९ गतेदेखि २० गतेसम्म प्रत्येक जिल्लामा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको व्यवस्थाको बिषयमा सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम गर्ने र कार्तिक ५ गतेदेखि आम शैक्षिक हडताल गर्ने घोषणा आजपाले यसअघि नै गरिसकेको छ । शिक्षा ऐनको मापदण्डअनुसार तराई मधेसमा ५० विद्यार्थीमा एक शिक्षक हुनुपर्ने, पहाडमा ४० विद्यार्थी बारबर एक शिक्षक, हिमालमा ३५ विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने प्रावधान रहेको छ ।

यो मापदण्ड निर्धारण गर्दा नै विभेदकारी रुपमा निर्धारण गरिएको छ । तर पनि यो मापदण्ड अनुसार तराई मधेसमा शिक्षकको व्यवस्था शिक्षा मन्त्रालयले नगरेको आजपा केन्द्रीय सदस्य एवं प्रवक्ता डा. हेमप्रसाद साहले जनाएका छन् । यसैबीच आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री ओलीले साम्प्रदायिक गतिविधिमा लागेको गम्भिर टिप्पणी गरेका छन् । 

प्रतिक्रिया

सम्बन्धित