बडीबिल्डर प्रकाश राईको ह्रदयघातका कारण निधन

पथरी /  पाँचौं खुला मिस्टर काठमाडौं शारीरिक सुगठन प्रतियोगिताका विजेता प्रकाश राईको निधन भएको छ। पाँच दिनअघि मात्र मिस्टर काठमाडौंको उपाधि जितेका बडि बिल्डर राईको हृदयघातका कारण मृत्यु भएको हो। ४५ वर्षीय राईलाई बुधबार बिहानै हृदयघात भएपछि ग्रान्डी अस्पताल लगिएको थियो।

शनिबार काठमाडौंको दशरथ रंगशालास्थित कभर्ड हलमा सम्पन्न प्रतियोगितामा राई ७५ केजी माथिको तौल समूहमा प्रथम हुँदै ओभरअल विजेता भएका थिए। बुधबार बिहान उनको निधन भएको प्रहरीद्वारा पुष्टि गरिएको छ। मोरङको पथरी शनिश्चरे नगरपालिका-१ निवासी राई 'फोनिक्स फिटशाला' मार्फत प्रतियोगितामा सहभागी हुन काठमाडौं आएका थिए। उपाधि जितेको खुसी परिवारसँग बाँड्न नपाउँदै उनको निधनको खबरले परिवार र नगरवासीहरू शोकमा डुबेका छन्।

राई काठमाडौंको टोखा नगरपालिका-६ स्थित ग्रिनल्यान्ड होटलमा बस्दै आएका थिए। बुधबार बिहान ६ बजेतिर अचानक लडेपछि उनलाई तत्कालै नजिकैको ग्रान्डी अस्पताल पुर्याइएको थियो। चिकित्सकहरूले उपचारको क्रममा पौने ७ बजे उनलाई मृत घोषणा गरेका थिए। मृत्युको यकिन कारण खुलेको छैन र घटनाको थप अनुसन्धान भइरहेको प्रहरी वृत्त महाराजगन्जले जानकारी दिएको छ।

राई एक दशकसम्म मकाउमा रोजगारीको सिलसिलामा बसेका थिए। मकाउमा रहँदा उनले २०११ को मिस्टर मकाउ प्रतिस्पर्धामा भाग लिएका थिए। शारीरिक सुगठनमा उनको पहिलो उपाधि मिस्टर धरान थियो। तीन वर्षअघि पोखरामा सम्पन्न मिस्टर बुल्स बडि बिल्डिङ च्याम्पियनसिपमा फस्ट रनर अप र धर्मश्री बडि बिल्डिङ च्याम्पियनसिपमा सेकेन्ड रनर अप भएका थिए।

राईलाई पथरी शनिश्चरे नगरपालिकाले नगरको गहना भनेर सम्मान गरेको थियो। उनी पथरी शनिश्चरेमा आमा-बुबा, श्रीमती, र छोरासँग बस्दै आएका थिए। उनका एक दाजु र एक भाइ छन्। पछिल्लो पाँच वर्षदेखि पथरी शनिश्चरेमै रहेर विभिन्न प्रतियोगितामा भाग लिँदै आएका राईले पथरीमा अन्तर्राष्ट्रिय स्तरको फिटनेस सेन्टर खोल्ने योजना बनाएका थिए।

प्रतिक्रिया

सम्बन्धित