इटहरीमा २१ करोडको लागतमा आधुनिक सभा हल निर्माण सुरु

इटहरी /  लामो समय देखि सबै दलहरुले घोषणा पत्रमा लेखेको इटहरीमा सभागृह बनाउने बाचा यो बर्ष पुरा हुने भएको छ  ।इटहरी सहरमा व्यवस्थित सभा हल नहुदा ठुलो कार्यक्रमहरु गर्न समस्या हुदै आएको थियो ।

सभा हल नहुँदा इटहरी उपमहानगरपालिकाको नगर सभा पनि भाडाको हलमा गर्नुपर्ने बाध्यता छ । व्यवस्थित सभा हलको शिलन्यास गर्दै मेयर हेमकर्ण पौडेलले इटहरीबासीको यौटा धेरै अधि देखिको सपना पुरा भएको बताए । 

नाटक प्रदर्शनको हब बनेको इटहरीमा व्यवस्थित थिएटर छैन । इटहरी उपमहानगरले सबै क्षेत्रका मागलाई सम्बोधन गर्ने गरी ड्रिम प्रोजेक्टको रूपमा व्यवस्थित आधुनिक सभा हल निर्माणको काम सुरु भएको हो ।

बहु प्रयोजनसहितको आधुनिक सभा हल निर्माण सुरु भएको छ । इटहरी उपमहानगरपालिकाले भगवती जे एन्ड जे.भी कम्पनी दमकसँग ठेक्का सम्झौता गरि काम सुरु गरेको हो ।

उपमहानगरपालिकाको वडा न. ५ स्थित काव्यवाटिकाको जग्गामा सभा हल निर्माण हुनेछ । एकपटकमा पाँच सय मानिस अट्ने क्षमता भएको आधुनिक सभा हल निर्माण हुनेछ ।

काव्य वाटिकाको जग्गामा १७ हजार ८०३ स्क्वायर फिट क्षेत्रफलमा ३ तलाको आधुनिक शैलीको सभा हल निर्माण हुने इन्जिनियर घिमिरेले जानकारी दिए ।

३ तलाको भवनमा ‘तीन स्टेप स्लोप डिजाइन’को सभा हल निर्माण हुनेछ । ‘तीन स्टेप स्लोप भन्नाले सिनेमा हल जस्तै डिजाइनको हल हो,’ उनले भने ।

यो सभा हललाई थिएटरको रूपमा प्रयोग गर्न सकिने इन्जिनियर घिमिरेले बताए । निर्माण गर्दा नै साउन्ड एब्जर गर्ने सिस्टम जडान गरिएको हुनेछ । नाटक प्रदर्शन गर्दा आवश्यक पर्ने लाइट, साउन्ड अनुकूल बनाउने सकिने गरी निर्माण गरिने घिमिरेले बताए ।

योसँगै अन्य साना खाले २ वटा सेमिनार हल पनि निर्माण हुनेछ । सभा हलसँगै व्यवस्थित पार्किङ, फूल बगैँचाले सभागृह क्षेत्रलाई आकर्षक बनाउने इन्जिनियर घिमिरेको भनाइ छ ।

निर्माण सम्पन्न भएपछि कोशी प्रदेशमा गरिने ठूला सभा सम्मेलनहरू इटहरीमा गर्न सकिने उपमहानगरको भनाइ छ । ठूला कार्यक्रमहरू आयोजना गर्न आउने मानिसहरूको चहलपहलले आर्थिक गतिविधि पनि बढ्ने उपमहानगरको अपेक्षा छ ।

सभा हल निर्माणका लागि इस्टिमेट गरी उपमहानगरले ३४ करोड ५४ लाख ८६ हजार ७९२ रुपैयाँको ठेक्का आह्वान गरेको थियो ।

आवेदन परेका मध्ये आगामी २०८३ असार २० गते सम्म निर्माण सम्पन्न गर्ने गरी २० करोड ९५ लाख ९५ हजार ९०८ रुपैयाँमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भएको उपमहानगरले जनाएको छ ।

नगर स्तरीय योजना अन्तर्गत निर्माण हुन लागेको उपमहानगरपालिकाले जनाएको छ । इटहरीका लागि निकै चासो पूर्वक हेरिएका ठूला र ड्रिम प्रोजेक्टको रूपमा अगाडि सारिएको नगर प्रमुख हेमकर्ण पौडेलले बताए ।

उपमहानगरको ड्रिम प्रोजेक्टको रूपमा रहेका आकासे पुल पनि चाँडै शिलान्यास गरिने पौडेलले बताए । यी योजनाहरूलाई तोकिएकै समयमा सम्पन्न गर्ने उनको दाबी छ ।

आकासे पुल र व्यवस्थित सभा हल इटहरीका लागि ठूलो आवश्यकताका योजना पनि हुन् । यी योजनाहरूलाई इटहरीबासीले लामो समयदेखि माग गरिरहेका छन् ।

सहरको आवश्यकता देखिएका योजनाहरू निर्माण सुरु गरी तोकिएको समयमै सम्पन्न भए इटहरीबासीमा  आशा थप्न सकिने जानकारहरू बताउँछन् ।

प्रतिक्रिया

सम्बन्धित