बिराटनगरकाे माछापुच्छ्रे सहकारीका अध्यक्ष पक्राउ, सर्वसाधरणको नौं करोड ठगेको आरोप

इटहरी । मोरङको बिराटनगरस्थित माछापुच्छ्रे सहकारी संस्थाका अध्यक्ष कमलेश कर्ण पक्राउ परेका छन् ।सर्वसाधरणले सहकारीमा जम्मा गरेको नौं करोड हिनामिनाको आरोपमा उनी पक्राउ परेका हुन् ।  करिव दुई वर्षदेखि फरार रहेका उनी गएको बुधबार पक्राउ परेका हुन् । पक्राउ परेलगत्तै उनी बिरामी परेका छन् ।

 उच्च रक्तचापका कारण कोशी अस्पतालमा भर्ना गरिएको प्रहरीले बताएको छ । अरु आरोपी नभागुन् भनेर कर्ण पक्राउ परेको विषयमा प्रहरीले सूचना गोप्य राखेको छ । अरू आरोपी पनि पक्राउ गर्नुपर्ने भएकाले सम्पूर्ण सूचना सार्वजनिक नगरिएको मोरङका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्र बस्नेतले बताएका छन् । सहकारीका २६ जनाविरूद्ध प्रहरीमा जाहेरी परे पनि अध्यक्ष मात्रै पक्राउ परेको प्रहरीले जनाएको छ । सहकारीको अध्यक्ष रहेर मासिक रुपमा तलव लिने गरेका कर्णसहित सहकारीका सञ्चालक र कर्मचारीविरूद्ध प्रहरीमा जाहेरी छ । 

कर्णविरूद्ध ५० जना बढीले बचत रकम दिलाइ दिन र ठगी गर्नेलाई कारबाही गर्न माग गर्दै निवेदन दिइसकेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । सहकारीमा सर्वसाधारणले गरेको बचतको रकमले निजी सम्पति जोडेका कर्णले श्रीमतीका नाममा राखेको जमिन सुरक्षित राख्न सम्बन्ध बिच्छेद गरेको निकट स्रोत बताउँछ । तर, प्रहरीले यसबारे केही बताएको छैन । २०७४ को आम निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा कर्णले स्वन्तन्त्र उम्मेदवारी दिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित