धनकुटामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या : आफैमाथि पनि खुकुरी प्रहार

धनकुटा । धनकुटाका एक व्यक्तिले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । धनकुटा महालक्ष्मी नगरपालिका–१ कटहरेका ३० वर्षीय विजय दर्जीले २५ वर्षीया पत्नी सरिता दर्जीको धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

गए राति ११ बजेतिर सामान्य विवादमा पत्नीमाथि खुकुरी प्रहार गरेपछि उनले आफैलाई समेत खुकुरी प्रहार गरेका थिए । घटना थाहा पाएपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । दुवैलाई उपचारका लागि जिल्ला अस्पताल धनकुटा ल्याइएकोमा सरिताको बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धनकुटाका डिएसपी राजबाबु महर्जनले जानकारी दिए ।

सरिताको पाखुरा र पेटमा गहिरो चोट लागेको थियो भने विजयको पेटको आन्दा बाहिर निस्किएको प्रहरीले जनाएको छ । डिएसपी महर्जनका अनुसार जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि उनलाई थप उपचारको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याइएको छ ।

प्रारम्भिक अनुसन्धानमा मानसिक सन्तुलन ठीक नभएका विजयले घरायसी विवादमा पत्नीमाथि खुकुरी प्रहार गरेको देखिएको जानकारी दिंदै डिएसपी महर्जनले भने, ‘उनी आफै गम्भीर भएकाले थप कुरा मिलसकेको छैन, उपचारपछि थप अनुसन्धान अगाडि बढ्छ ।’ उनीहरूका पाँच र ११ वर्षका दुई छोरी छन् ।

प्रतिक्रिया

सम्बन्धित