ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्षसहित नौं जना जुवाखालबाट पक्राउ, साढे १८ लाख रकम बरामद

मोरङ । मोरङको ग्रामथान गाउँपालिकाका पूर्व अध्यक्ष शिवनारायण माझी थारूसहित नौं जना जुवाखालबाट पक्राउ परेका छन् । कटहरास्थित एक जुवाखालबाट शनिबार राति १८ लाख ५१ हजार रुपैयाँसहित पूर्व गाँउपालिका अध्यक्ष थारू र अन्य आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

मोरङ प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक नवराज कार्कीले शनिबार राति करिब ८ बजे जुवा खालबाट गाँउपालिका–४ का ५९ वर्षीय थारुसहित सोही स्थानका ५५ वर्षीय अहिलाल माझी, मोरङको सुन्दरहरैँचा नगरपालिका– १ का ५० वर्षीय जनककुमार मास्के, धरान उपमहानगरपालिका– १५ का ४५ वर्षीय युवक राई, दुहबी नगरपालिका– ६ का ४५ वर्षीय जयकिशोर साह, महोत्तरीको गौशाला नगरपालिका– १ का ४५ वर्षीय महेश साह, झापाको दमक नगरपालिका– १० का ४६ वर्षीय ऋतुवर्ण नेम्वाङ, लेटाङ नगरपालिका–९ का ३८ वर्षीय लोकनाथ सापकोटा र सुन्दरहरैंचा नगरपालिकाका ३२ वर्षीय प्रताप राई पक्राउ परेका जानकारी दिए ।

प्रहरीका अनुसार पक्राउ परेका थारू २०७४ सालको स्थानीय तह निर्वाचनमा नेकपा एमालेका तर्फबाट ४ हजार ७ सय २० मतसहित गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका थिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङ, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले जुवा खालमा राति छापा मारेको थियो ।

पक्राउ परेकाहरुको साथबाट र जुवा खालबाट १८ लाख ५१ हजार ५ सय रूपैयाँ नगद, १६ थान कौडा, १२ बुंग तास, पाउडर, पैसा राख्न प्रयोग गरिने काठको बाकस, झोला, १५ वटा मोबाइल बरामद भएको मोरंग प्रहरी प्रमुख कार्कीले जानकारी दिए। कार्कीले जुवा खालबाट १७ लाख २९ हजार ५ सय र खेलिरहेका जुवाडेको साथबाट १ लाख २२ हजार रूपैयाँ बरामद बताए ।

जुवाको सञ्चालनकर्ताबारे खोजी भइरहेको जनाएको प्रहरीले राति छापा मार्ने क्रममा केही व्यक्ति फरार भएको उल्लेख गरेको छ । उनीहरूको समेत प्रहरीले खोजी गरिरहेको मोरङ प्रहरी प्रमुख कार्कीले जानकारी दिए । पक्राउ परेकाहरुमध्येले आफै मिलेर खेल्दै आएको बताएका छन् । पक्राउ परेकाहरुविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ अनुसार कानुनी कारबाही अघि बढाउने तयारी गरेको प्रहरी थप अनुसन्धानमा जुटेको कार्कीको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित