उपसभामुख हटाउने कुराबाट कांग्रेस एमाले आफै ‘ब्याक’ हुन्छन् : प्रचण्ड

विराटनगर । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपसभामुख इन्दिरा रानालाई हटाउने विषयबाट काँग्रेस–एमाले आफैं ब्याक हुने बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने, ‘उपसभामुख एउटा इमान्दार, जनजाति महिला, बालबच्चाको लागि ख्यातिप्राप्त हुनुहुन्छ । उहाँले टेक्निकल्ली केही कुरा नजानेर त्रुटी गर्नु भयो । त्यसको सजाय उपसभामुखबाट हटाउनेसम्म जानु हुँदैन भन्नेमा हामी दृढ छौं । सायद उहाँलाई हटाउने कुराबाट काँग्रेस एमाले नै पछि हट्नु हुन्छ होला ।’ 

अध्यक्ष प्रचण्डले संवैधानिक परिषदमा प्रधानन्यायाधीश सिफारिसका लागि ८ जनाको नाम सिफारिस भएको बताउँदै  सबै उक्त पदका लागि योग्य भएको बताए । तपाईहरुले बरियता मिच्न लाग्नु भएको कुरा छ नि ? भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘प्रधानन्यायाधीशको सिफारिसका लागि ८ जनाको नाम आएको छ । हिजोको बैठकमा पनि सिनियारिटीलाई तोड्नु पर्छ भनेर कसैले भनेको छैन । त्यस्तो समस्या परेको केही छैन ।’

उनले संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा एकैपटक नियुक्त गर्नु राम्रो हुने बताए । ‘एउटा एउटा गर्नु राम्रो हुँदैन भनेर मैले भनेको छु । सबै रिक्त रहेका संवैधानिक आयोगहरुमा पूर्ति गर्नुपर्छ भन्ने लागेको छ,’ उनले भने । अध्यक्ष प्रचण्डले ‘हिंसा’ शब्दको विषयमा सदनमा भएको बहस नटुंगिएसम्म संसद चल्न नदिने पनि बताए । ‘एमालेका साथीहरुबाट जनयुद्धलाई ‘हिंसा’ भनेर अपब्याख्या गर्ने र भ्रम छर्ने काम भइरहेको छ । त्यो विषयको सम्बोधन नभएसम्म संसदमा विरोध जारी रहन्छ’, उनले भने । 

उनले परिवर्तन जोगाउन आफ्नो पार्टीलाई राम्रोसँग तयार गर्नुपर्छ भनेर आफूहरु लागिरहेको उल्लेख गर्दै भने, ‘व्यवस्था र परिवर्तनको लागि धेरै त्याग गरेको हाम्रो पार्टी नै हो । त्यसैले परिवर्तन उल्ट्याउन नदिने गरी तयारी गर्नुपर्छ भनेर हामी लागेका छौं ।’ अर्को एक प्रसङ्गमा उनले राजनीतिमा नेताको एक्जिट भन्ने नुहने बताए । ‘सच्चा राजनीतिज्ञहरु बाँचेसम्म राजनीति गर्छन् । मरेपछि पनि उनीहरुले राजनीति गरिरहन्छन् भन्ने दर्शन छ । नेतालाई विश्राम लिने छूट हुँदैन’उनले भने । अध्यक्ष प्रचण्डले आजै मोरङ र सुनसरीका विभिन्न पार्टी कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।

प्रतिक्रिया

सम्बन्धित