डेङ्गीबाट झापामा दुई जनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित

झापा । कोशी प्रदेशमा डेङ्गीबाट गत साउनदेखि हालसम्म एक हजार ६५ जना संक्रमित भएका छन् । यस अवधिमा डेङ्गी संक्रमणका कारण झापामा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य कार्यालयका डेङ्गी फोकल पर्सन वीरेन्द्र दासका अनुसार झापामा डेङ्गीबाट मृत्यु हुनेमा हल्दिबारी–३ की ४२ वर्षीया विमला दाहाल पौडेल र विर्तामोड–४ का आठ वर्षीय आलोकजङ्ग बस्नेत रहेका छन् । झापामा साउन १ गतेयता संक्रमितको संख्या एक सय २८ पुगिसकेको छ । कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा संक्रमितको संख्या पाँच सय ३२ पुगेको छ भने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गीका संक्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गीको एक जना पनि संक्रमित पाइएको छैन ।

स्वास्थ्य निर्देशनालय धनकुटाका फोकल पर्सन सुरक्षा खत्रीका अनुसार धनकुटामा ८० र सुनसरीमा ७० जनामा डेङ्गीको संक्रमण भएको छ । यसैगरी, उदयपुरमा ६९ जना, भोजपुरमा ६८, सङ्खुवासभामा ६७, ओखलढुङ्गामा २९, पाँचथरमा २१, सोलुखुम्बुमा ६, इलाममा पाँच जना, खोटाङमा चार जना र तेह्रथुममा दुई जनामा डेङ्गी संक्रमण भएको पाइएको छ ।गत वैशाखदेखि नै कोशी प्रदेशका अधिकांश जिल्लामा डेङ्गीको संक्रमण फैलिन थालेको थियो ।

वैशाखदेखि असारसम्म कोशीमा तीन सय ८६ जनामा डेङ्गी संक्रमण भइसकेको थियो । झापामा साउन १ गतेयता सबैभन्दा धेरै विर्तामोडमा ८१ जनामा डेङ्गीको संक्रमण भेटिएको छ । त्यसपछि दमकमा २२ जनामा संक्रमण पुष्टि भयो भने हल्दिबारीमा सात जना र भद्रपुरमा पाँच जनामा डेङ्गीको संक्रमण भेटिएको छ ।      

प्रतिक्रिया

सम्बन्धित