जीवनोपयोगी शिक्षाका अवसर जुटाउने विषय सरकारको प्राथमिकतामा छ- प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको शुभकामना दिदै अनिवार्य र निःशुल्क शिक्षा पाउने मौलिक हकको सुनिश्चिततासँगै विद्यालय जाने उमेरका सबै बालबालिकाहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न र विद्यालय उमेर नाघेका नागरिकका निमित्त जीवनोपयोगी शिक्षाका अवसरहरु जुटाउने विषय सरकारको प्राथमिकतामा रहेको बताएका छन् । 

प्रधानमन्त्री ओलीले अनिवार्य र निःशुल्क शिक्षा ऐन, २०७५ को कार्यान्वयनसँगै साक्षरता-आजीवन सिकाइका कार्यक्रमहरु सञ्चालनमा रहेको बताउदै साक्षरताका कार्यक्रमहरुको सञ्चालनमा स्थानीय तहको भूमिका महत्वपूर्ण रहेको बताएका छन् ।

उनले भनेका छन्- 'गरिबीका कारणले तराई र दुुर्गमका कतिपय ठाउँहरुमा साक्षरता र भर्ना अभियानले सार्थकता पाउन नसकेको अवस्थालाई दृष्टिगत गरी मेरो नेतृत्वको अघिल्लो सरकारले राष्ट्रव्यापी रुपमा विद्यार्थी भर्ना अभियान कार्यक्रमको सुरुवात गरेको थियो । विद्यालय उमेरका सबै बालबालिकालाई अनिवार्य रुपमा विद्यालयमा भर्ना गर्ने नीतिले पनि साक्षरताको अभियानलाई सहयोग पुर्याएको छ । भर्ना भएका बालबालिकालाई विद्यालयबाट ड्रपआउट हुन नदिन सरकारले दिवा खाजा, छात्रवृत्ति लगायतका अन्य प्रोत्साहनका कार्यक्रम सञ्चालन गरेको छ । यसलाई अझै सुधार गर्दै लैजाने सरकारको योजना छ ।'

ओलीले नेपालमा पछिल्लो समयमा पूर्ण साक्षर पालिका र साक्षर जिल्ला घोषणा हुँदै गएको बताउदै यो महत्वपूर्ण उपलब्धि भएको बताएका छन् । उनले भने- 'विश्व अहिले सूचना प्रविधिको युुगमा प्रवेश गरेको छ, त्यसकारण प्रविधिमैत्री साक्षरता र सीप अहिलेको आवश्यकता हो । प्रविधिमैत्री शिक्षा प्रदान गर्न सरकारले योजनाबद्ध रुपमा कार्य अगाडि बढाइरहेको छ । शिक्षालाई रोजगार र स्वरोजगारसँग जोड्दै निजी क्षेत्र, सामाजिक सङ्घ संस्थाहरु लगायत सबैको भूमिकालाई प्रभावकारी बनाउँदै निरक्षरतालाई साक्षरतामा रुपान्तरण गर्न हामी सबै लाग्नु पर्ने छ । हामी सबैको योगदानले साक्षर नेपालको अभियानलाई सार्थक बनाउन सक्छौँ । नेपाल पूर्ण साक्षर मुलुकतर्फ अग्रसर हँुदै समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्यमा छ । यस गन्तव्य प्राप्तिमा शिक्षा क्षेत्रको योगदान महत्वपूर्ण हुने भएकाले त्यसअनुसारको भूमिका निर्वाह गर्नका लागि म सम्बन्धित सबैमा हार्दिक आह्वान गर्दछु ।'

प्रधानमन्त्री ओलीले ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसरमा 'बहुभाषिक शिक्षाको प्रवद्र्धनः पारस्परिक समझदारी र शान्तिका लागि शिक्षा' भन्ने आदर्श वाक्यका साथ मनाउन लागिएको यस दिवसले शान्ति, सहिष्णुता, बहुभाषिक शिक्षा र आपसी समझदारीका साथ अगाडि बढ्न प्रेरणा प्रदान गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित