राजविराजको मुख्य सडकमै खाल्डाखुल्डी, मर्मतमा छैन कसैको चासो

सप्तरी । राजविराजस्थित रुपनी मोड नजिक रहेको सडक स्तरोन्नति नहुँदा आवतजावतमा समस्या भइरहेको छ । मुख्य बजारमै रहेको सडक जीर्ण भएर ठुल्ठूला खाल्डा परेका छन् तर मर्मत नहुँदा सास्ती भइरहेको स्थानीय र सवारी चालकले गुनसो गरेका छन् । 

माइक्रोबस चालक सत्यदेव यादवले हुलाकी राजमार्गसमेत पर्ने उक्त सडकमा माटो र ग्राभेल हाल्दा वर्षाले हिलो हुने र फेरि खाल्डो पर्ने गरेकाले झनै समस्या हुने गरेको बताए । रुपनी मोडदेखि हनुमान मन्दिरसम्म वर्षायाममा मात्र नभइ अन्य समयमा पनि जीर्ण सडकका कारण दुर्घटनाको जोखिम रहेको उनको भनाइ छ । ‘उक्त ठाउँमा करिब एक सय मिटर सडक जीर्ण छ तर  मर्मतका लागि नगरपालिका र सडक विभागले चासो दिएको छैन’, यादवले भने । 

यही बाटो भएर राजविराज काठमाडाै‌लगायत स्थानमा लामो तथा छोटो दूरीका बस सञ्चालन हुन्छन् । बस व्यवसायी विजय दास सडकको दूरावस्थाका कारण दैनिक साना–ठूला दुर्घटना हुने गरेका बताउँछन्। उक्त खण्ड तत्काल मर्मत तथा पुनःनिर्माण गरी आवागमन सहज बनाउन उनको आग्रह छ । राजविराज नगरपालिकाका कार्यवाहक प्रमुख इसरत प्रविनले जीर्ण सडक मर्मतका लागि सहजीकरण गर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित