देशैभरी चल्न थाल्याे टिकटक

इटहरी । टिकटकमाथिको प्रतिबन्ध सरकारले औपचारिक रूपमा हटाएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले एक सूचना जारी गर्दै टिकटकमाथि लगाइएको सम्पूर्ण प्रतिबन्ध हटाइएको जानकारी गराएको छ । प्राधिकरणले साउन ६ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार टिकटक खुला गर्न सबै इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन जारी गरिसकेको उक्त सूचनामार्फत जनाएको छ ।

यससँगै अब सबै नेटवर्कमा टिकटक चल्न थालेको छ ।  १५ दिनअघि नै मन्त्रिपरिषद्को बैठकले टिकटकको प्रयोगमा लगाइएको रोक हटाउने निर्णय गरेको भए पनि प्राधिकरणले औपचारिक जानकारी गराएको थिएन । शर्तसहित प्रतिबन्ध हटाउने सरकारको निर्णयपछि टिकटकका प्रतिनिधिहरु काठमाडौं आएका थिए । उनीहरुले बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सरकारले राखेका शर्तहरुबारे छलफल गरेर सबै सर्ब शर्त मान्न तयार रहेको बताएका थिए ।

टिकटकको सिंगापुरस्थित कार्यालयबाट आएका तीन जना प्रतिनिधिले सरकारले राखेका शर्तहरु पूरा गर्ने प्रतिवद्धता पत्र दिएपछि मन्त्रालयले प्राधिकरणलाई मन्त्रिपरिषदको निर्णय जानकारी गराउँदै टिकटकमाथिको रोक हटाउन निर्देशन दिएको थियो । टिकटक नेपालमा दर्ता हुनुपर्ने, ‘प्वाइन्ट अफ कन्ट्याक्ट’ अर्थात् सम्पर्क केन्द्र तोक्नुपर्ने, नेपालको पर्यटन प्रवद्र्धन, डिजिटल सुरक्षा, डिजिटल साक्षरता, सार्वजनिक शिक्षाका क्षेत्रमा सहयोग गर्नुपर्ने शर्त सरकारले राखेको थियो ।

टिकटकले आधारभूत र माध्यमिक विद्यालयबाट डिजिटल साक्षर अभियानमा टिकटकले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । त्यस्तै सामाजिक दुर्भावना फैलाउने खालका ‘कन्टेन्ट’ भित्र रहेका शब्द, वाक्यहरूको अंग्रेजी, नेपालीसहित नेपालभित्र बोलिने अन्य भाषामा ‘फिल्टरेसन’ र ‘मोडरेसन’ गर्न पनि तयार भएको छ । टिकटकले सामाजिक सद्भाव भड्काउने काम गरेको भन्दै गएको वर्ष कार्तिक २७ गते तत्कालीन सरकारले प्रतिबन्ध लगाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित